
नेपालगन्ज, २२ पुस – आर्थिक उपार्जनका लागि सहरबजार नै बस्नु पर्दैन भन्ने उदाहरण बाँके जिल्ला चिसापानी–५ का दलित समुदायका महिलाले प्रस्तुत गरेका छन् ।
सो गाविसका करिब २५ भन्दा बढी महिलाले सङ्गिनी समूह गठन गरी आफ्नै गाउँमा व्यावसायिक खेतीतर्फ अग्रसर भएका छन् । समूहमार्फत ती महिला अहिले व्यावसायिकरुपमा तरकारी, मकै, धानखेती तथा कुखुरा र बाख्रापालनमा सक्रिय देखिएका छन् ।
समूहमा आबद्ध महिला आयआर्जन व्यवसायका साथै सामाजिक कार्यमा समेत सहभागी हुँदै गएको उनीहरू बताउँछन् ।
गाउँमा विद्यालय निर्माण, संघसंस्था स्थापना तथा राजनीतिकरुपमा पनि समूहका महिला सक्रिय देखिएपछि जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी निकायले पनि सहयोग उपलब्ध गराउँदै आएको छ ।