वसन्तको अलराउण्ड प्रदर्शनमा नेपालको जित

काठमाण्डु टुडे २०७० पुष २२ गते ९:०६ मा प्रकाशित

149611काठमाण्डु, २२ पुस – एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि तयारीका क्रममा न्युजिल्याण्डमा रहेको नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेल पनि जितेको छ ।

वसन्त रेग्मीले ब्याटिङ र बलिङ दुबैतर्फ उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले क्यान्टरबरी क्रिकेट क्लवविरुद्ध ६ रनको संघर्षपूर्ण जित दर्ता गरेको हो । रेग्मीले ३२ बलमा २ छक्का र ३ चौकाको मद्दतमा ४३ रन बनाउनुका साथै ३ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय १० रन जोडेको थियो । नेपालका लागि रेग्मीका अलावा उपकप्तान ज्ञानेन्द्र मल्लले ४७, सरद भेषावकर र पारस खड्काले समान २६, अनिल मण्डलले १८ तथा महेश क्षेत्रीले १६ रनको योगदान गरे ।

२ सय ११ रनको लक्ष्य पछ्याएको घरेलु टिमले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर मात्र २ सय ४ रन जोड्न सक्यो । नेपालका लागि वसन्त रेग्मीले ३ तथा सागर पुन, शक्ति गौचन, सोमपाल कामी र अविनाश कर्णले समान १–१ विकेट लिए ।

यही पुस २९ गते सोमबारबाट सुरु हुने प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्ने छ । त्यसअघि वार्मअप खेलमा शुक्रबार नामिविया र शनिबार केन्यासँग प्रतिस्पर्धा गर्ने कार्यतालिका छ ।

१० टिमको सहभागिता रहेको प्रतियोगिताको शीर्ष २ भित्र पर्न सके नेपालले सन २०१५ मा न्युजिल्याण्ड र अष्टे«लियाले संयुक्तरुपमा आयोजना गर्ने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us