कृषक महिलालाई नेतृत्व विकास तालिम

काठमाण्डु टुडे २०७० पुष २२ गते ४:२९ मा प्रकाशित

नेपालगन्ज, २२ पुस – कृषि तथा पशु व्यवसायमा महिलाको पनि सहभागिता वृद्धि गर्ने उद्देश्यले जिल्ला पशुसेवा कार्यालय बाँकेले कृषक महिलालाई प्राविधिक ज्ञान दिने अभियान थालेको छ । अभियानअन्तर्गत कोहलपुर, मनिकापुर र चिसापानी गाविसका कृषक समूहमा आबद्ध २१ जना महिलालाई कृषिसम्बन्धी नेतृत्व विकास तालिम उपलब्ध गराइएको छ ।

तालिमले कृषि तथा पशुपालन व्यवसायमा आबद्ध महिलाको क्षमता अभिवृद्धि, वैज्ञानिक कृषि प्रविधिको प्रयोग, व्यवस्थापिक कार्यकुशलतामा सहजता आउने विश्वास गरिएको छ । तालिमको वरिष्ठ पशु चिकित्सक टेकनाथ आचार्य, महिला तथा बालबालिका कार्यालयका प्रमुख शोभा शाह र साथी संस्थाका प्रमुख कमला पन्थले प्रशिक्षण दिएका थिए ।

यसैबीच आर्थिक उपार्जनका लागि सहरबजार नै पस्नु पर्दैन भन्ने उदाहरण बाँके जिल्ला चिसापानी गाविस–५ का दलित समुदायका महिलाले प्रस्तुत गरेका छन् । सो गाविसका करिब २५ भन्दा बढी महिलाले सङ्गिनी समूह गठन गरी आफ्नै गाउँमा व्यावसायिक खेतीतर्फ अग्रसर भएका छन् ।

समूहमार्फत ती महिलाहरु अहिले व्यवसायिक रुपमा तरकारी, मकै, धानखेती तथा कुखुरा र बाख्रापालनमा सक्रिय देखिएका छन् । समूहमा आबद्ध महिलाहरु आयआर्जन व्यवसायका साथै सामाजिक कार्यमा समेत सहभागी हुँदै गएको उनीहरु बताउँछन् ।

गाउँमा विद्यालय निर्माण, सङ्घसंस्था स्थापना तथा राजनीतिक रुपमा पनि समूहका महिलाहरु सक्रिय देखिएपछि जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी निकायले पनि सहयोग उपलब्ध गराउँदै आएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us