विश्व चर्चित फुटबल खेलाडि यूसेबियो रहेनन्

काठमाण्डु टुडे २०७० पुष २२ गते ३:३८ मा प्रकाशित

eusebio_da_silvaकाठमाण्डु, २२ पुस– विश्व चर्चित फुटबल खेलाडि यूसेबियोको निधन भएको छ । ‘ब्ल्याक प्यान्थर’ अर्थात कालो चितुवाका नामले चर्चित उनलाई फुटबलको सर्वकालीन उत्कृष्ट खेलाडिको रुपमा चिनिन्छ ।

समाचार एजेन्सीहरुका अनुसार यूसेबियोको हृदयघात भएर मृत्यु भएको हो । उनी ७१ बर्षका थिए ।

मोजाम्बिकमा २५ जुलाई १९४२ मा जन्मिएका यूसेबियो १९ बर्षको उमेरमा बेनफिका क्लबमा अनुबन्ध भएका थिए । बेनफिकाको पूर्व स्ट्राइकर यूसेबियोले ७४५ व्यवसायीक खेलमा ७ सय ३३ गोल गरेका थिए । उनले सन् १९६६ मा इङ्ग्ल्याण्डमा भएको विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडिको कीर्तिमान राखेका थिए । उनले ९ गोल गरेका थिए । जसमध्ये उत्तर कोरिया विरुद्धको खेलमा उनले ४ गोल गरेका थिए । १९६६ मा उत्तर कोरिया विश्वलाई नै स्तब्ध पार्ने उत्कृट खेल खेल्दै क्वाटर फाईनलसम्म पुगेको थियो । विश्व फुटबलकै ऐतिहासिक खेल मानिने उत्तर कोरिया र पोर्चुगलबीचको क्वाटर फाईनलमा उत्तर कोरियासँग ३–० ले पछि परेको पोर्चुगलले यूसेवियोको ४ गोलको मद्दतमा ५–३ को जीत हासिल गरेको थियो ।

कलात्मक र द्रूत गतिको ड्रिबलिङका लागि चर्चित यूसेबियो १९६५ युरोपियन वर्ष खेलाडी घोषित भएका थिए । १९६६ मो उनकै नेतृत्वमा बेनिफिकाले युरोपियन कपको उपाधि उचालेको थियो । १० पटक पोर्चुगलको लिग च्याम्पियनशिप जीत र १६ पटक पोर्चुगीज कप जीतमा सहभागी भएका यूसेवियो सातपटक पोर्चुगिज लिगको सर्वाधिक गोलकर्ता बनेका थिए ।

पछिल्लो केहि समय यता मुटुमा समस्या देखिएपछि उनलाई पटक पटक अस्पताल भर्ना गरिएको थियो । यूसेवियोको जन्म अफ्रिकी राष्ट्र मोजाम्बिकमा भएको थियो । त्यसबेला मोजाम्बिक पोर्चुगलको उपनिवेश थियो ।

फीफा अध्यक्ष सेप ब्लाटरले आफ्नो ट्वीटरमार्फत् भनेका छन्, ‘यूसेबियो महान खेलाडिमा जुन स्थान छ, यो हमेशा कायम रहने छ ।’

बेनफिकाले पनि एक सन्देश जारी गर्दै यूसेबियोको प्रतिभा र चरित्रको सँधै सम्झीरहने बताएको छ । फुटबल प्रेमीहरुकोलागि यूसेबियोको जीबन विरासत सरह रहेको सन्देशमा उल्लेख छ ।

चेल्सी, मेनचेष्टर युनाइटेड लगायत विश्व चर्चित क्लबका खेलाडिहरुले यूसेबियोको निधनमा दुःख व्यक्त गर्दै उनी सँधै अमर रहेने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us