स्वान्सीसँग हार्दै म्यान्यू बाहिरियो

काठमाण्डु टुडे २०७० पुष २२ गते २:३४ मा प्रकाशित

Manchester-Unitedकाठमाण्डु, २२ पुस– एफए कपको पछिल्लो खेलमा म्यानचेष्टर युनाइटेड स्वान्सीसँग २–१ ले पराजित भएको छ । हारसँगै म्यानचेस्टर युनाईटेड एफए कपको तेस्रो चरणबाटै बाहिरिएको छ ।

१२ औं मिनेटमा वाएर रोटलेसको गोलबाट स्वान्सीले अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि नै म्यान्यूले बराबरी गोल फर्काउन सफल भयो । म्यान्यूको लागि जाभियर हर्नान्डेजले १६ औं मिनेटमा गोल गरेका थिए । अन्तिम समयमा स्वान्सीको लागि विलफ्रेड वोनीले अर्को गोल थपेर म्यान्यूलाई स्तब्ध पारे । बोनीले दोस्रो हाफको ९० औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

म्यान्युको घरेलु मैदानमा स्वान्सीको यो पहिलो तथा ऐतिहासिक जीत हो । सन् १९३१ मा म्यानचेस्टर युनाईटेडको घरेलु मैदानमा पहिलो खेल खेलेयता स्वान्सीले म्यान्युसँग ओल्डट्राफोडमा यसअघि १० खेलिसकेको थियो । १० मध्येका कुनै पनि खेलमा स्वान्सी विजयी हुन सकेको थिएन । दुई खेल भने बराबरीमा टुङ्गिएका थिए । जसमध्ये पछिल्लो बराबरीको खेल सन् १९३४ मा भएको थियो ।

डेभिड मोयसको म्यान्युको यो लगातार दोस्रो हार हो । यस वर्षको नयाँ वर्षको दिन खेलिएको यसअघिको खेलमा म्यान्यू टोटनह्यामसित पराजित भएको थियो । म्यान्युले यस वर्ष आफ्नो घरेलु मैदानमा ५ वटा हार बेहोरिसकेको छ । घरेलु मैदान ओल्डट्राफोडमा खेलिएका पछिल्ला ६ खेल मध्ये ४ खेलमा म्यानचेस्टर युनाईटेडले हार बेहोरेको छ ।

यसअघिका म्यान्चेस्टर युनाईटेडका म्यानेजर एलेक्स फग्र्युसनको २६ वर्षे कार्यकालमा मात्र एकपटक म्यान्यू एफए कपको तेस्रो चरणबाट बाहिरिएको थियो । फग्र्युसनको कार्यकालमा २०१० मा लिडसँग बेहोरेको हार म्यान्युको एफए कपको पछिल्लो हार थियो ।

गएराती नै भएका अन्य खेलमा चेल्सीले डर्बीलाई तथा लिभरपुलले ओल्डहामलाई समान २–० गोलले पराजित गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us