कुखुराको मासुको मूल्य तोकियो, बढी लिएमा कारबाही हुने

काठमाण्डु टुडे २०७० पुष २१ गते ११:२२ मा प्रकाशित

chickenचितवन, २१ पुस– व्यवसायीहरूले मनोमानी रूपमा कुखुराको खरिद बिक्री गर्न थालेपछि चितवनमा कुखुराको मासुको मूल्य तोकिएको छ ।

नेपाल कुखुरा बजार व्यवस्थापन संघले मूल्यमा एकरूपता कायम गर्न जिल्लामा कुखुराको थोक तथा खुद्रा मूल्य तोकेको जनाएको छ । मूल्य मनोमानी गरेको जनगुनासो बढेपछि आजैदेखि लागू हुने गरी मूल्य तोकिएको संघका केन्द्रीय अध्यक्ष शंकरप्रसाद कँडेलले जानकारी दिए ।

अहिले कुखुराको फार्म मूल्य प्रतिकेजी रु १८०, सप्लायर्स मूल्य रु २०० र फ्रेस मासु रु ३०० तोकिएको अध्यक्ष कँडेलले बताए । यो मूल्यबाहेक बढी लिएको पाइएमा संघमा खबर गरे आवश्यक कारबाही गर्ने उहाँले चेतावनी दिए ।

यसअघि कुखुराको मूल्यमा हालको मूल्यमा रु २० देखि ५० सम्म तलमाथि हुँदै आएको थियो । बर्डफ्लुको संक्रमणका बेला घटेको भए पनि पछिल्लो समयमा भने बढाएर पैसा लिने गरेको उपभोक्ताले बताएका छन् ।

अहिले अन्डा र कुखुराका चल्लाको मूल्य भने ह्वात्तै बढेको उपभोक्ताको गुनासो छ । उनीहरूले यसमा पनि मूल्य तय गर्न माग गरेका छन् । किसान र व्यवसायीहरू नठगिउन् भनेर मूल्य तोकिएको कँडेलले बताए ।

अझै जिल्लामा बर्डफ्लु लाग्नुभन्दा अघि झैँ उत्पादन हुन नसकेकाले अन्डा र चल्लामा भाउ बढेको व्यवसायी डा तीलचन्द्र भट्टराईले बताए । यहाँ हाल दैनिक करिब ४० टन मासुको खपत हुने गरेको भए पनि अहिले ३० टनमात्रै उत्पादन हुने गरेको व्यवसायीहरू बताउँछन् ।

जिल्लामा भर्खरै भएको पहिलो पोल्ट्री दिवसमा रोग नियन्त्रणमा सरकार र व्यवसायीले विशेष ध्यान पु¥याउने, ओसारपरासमा सहजीकरण गर्ने, भारतबाट भित्रिने कुखुराजन्य वस्तुमा सरकारले कडाई गर्ने, व्यवसायीले जैविक सुरक्षा प्रणाली अपनाउने ,पोल्ट्री फार्म दर्ता गराउने र विभागले यसलाई ऐनकै रूपमा अगाडि बढाउने निर्णय भएकोले अब व्यवसाय व्यवस्थित हुने व्यवसायी शिवराम केसीले जानकारी दिनुभयो ।

नेपालमा अहिले पोल्ट्री क्षेत्रमा कुल रु ६० अर्ब लगानी भएको व्यवसायीहरूले बताएका छन् । देशभर गरेर पाँच हजार बढी व्यवसायीहरू यो क्षेत्रमा लागेको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us