लुम्बिनीमा पर्यटक घटे

काठमाण्डु टुडे २०७० पुष २१ गते ४:२२ मा प्रकाशित

Lumbiniभैरहवा, २१ पुस–विश्व शान्तिका प्रतीक गौतमबुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने तेस्रो देशका पर्यटकको सङ्ख्यामा कमी आएको छ । राहदानीवाहक पर्यटकको सङ्ख्यामा गिरावट आएपछि यस क्षेत्रको समग्र पर्यटन व्यवसाय प्रभावित भएको छ ।

लुम्बिनीलाई विश्व पर्यटनको प्रमुख गन्तव्य बनाइरहने भनेर भनिरहेको सन्दर्भमा तेस्रो मुलुकका पर्यटकहरुको आगमनमा चाहिँ गिरावट आउनु राम्रो लक्षण नभएको पर्यटनविद प्राध्यापक डा. गितु गिरीको भनाइ छ । ‘सङ्ख्यात्मक रुपमा भारतीय र नेपाली पर्यटकको सङ्ख्या वृद्धि भए तापनि तेस्रो मुलुकको सङ्ख्या घटेको छ । यसको मूलभूत कारण विश्व पर्यटन बजारमा लुम्बिनीको अझै प्रचारप्रसार राम्रो नभएर नै हो । यसतर्फ लुम्बिनी विकास कोष र राज्यले ध्यान दिनुपर्दछ,’ पर्यटनविद् गिरीले भनिन् ।

लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङले भारतको बोधगयामा भएको घटनाले पनि लुम्बिनी भ्रमण गर्न चाहने श्रीलङ्काली र बर्मेली पर्यटकलाई प्रभावित पारेका कारण उनीहरुको सङ्ख्या ह्वात्तै घट्दा सङ्ख्यात्मक रुपमा तेस्रो मुलुकका पर्यटकको सङ्ख्यामा गिरावट देखिएको बताए । कोषका प्रवक्तासमेत रहेका तामाङले लुम्बिनी घुम्न आउने मुख्यगरी श्रीलङ्का, बर्मा र जापानका पर्यटक घटेको जानकारी दिए । अन्य देशका नागरिकको लुम्बिनी भ्रमण गर्ने तथा लुम्बिनी बसाइ सामन्य गिरावट आएको छ ।

सन् २०१३ मा ३५ हजार ४२६ जना श्रीलङ्कालीले लुम्बिनीको भ्रमण गरेका थिए । जबकि अघिल्लो वर्ष सन् २०१२ मा ५२ हजार ५२ हजार ६७१ ले लुम्बिनीको भ्रमण गरेका थिए । कोषका सूचना अधिकृत हरिध्वज राईका अनुसार सन् २०१३ मा विश्वभरिका १०० देशका नागरिकले लुम्बिनीको भ्रमण गरेका छन् । वर्ष २०१३ मा लुम्बिनीको भ्रमण गर्ने विदेशी पर्यटकहरुको सङ्ख्या एक लाख २५ हजार ४९२ रहेको छ ।

सन् २०१२ मा एक लाख ३६ हजार एक जनाले र सन् २०११ मा एक लाख २८ हजार २५९ जना तेस्रो मुलुकका नागरिकले लुम्बिनीको भ्रमण गरेको कोषको तथ्यांकमा उल्लेख छ ।

सरकारले लुम्बिनीमा विश्वका पर्यटकलाई आकर्षित गर्ने ध्ययले सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us