
काठमाण्डु, २० पुस– कृषि विकास मन्त्रालयले च्याउ व्यवसायप्रति कृषकको थप आकर्षण, प्रवद्र्धन तथा विस्तार गर्न आगामी वर्षदेखि च्याउ महोत्सव गर्ने भएको छ ।
सरकारले बलम्बुमा च्याउ अनुसन्धान तथा तालिम केन्द्रको पनि स्थापना गरेको छ । केन्द्रको शनिबार कृषि मन्त्री टेकबहादुर थापाले उद्घाटन गरे ।
कार्यक्रममा थापाले च्याउलाई निर्यातजन्य वस्तुका रुपमा सरकारले राख्न गृहकार्य सुरु गरेको जानकारी दिँदै च्याउखेतीप्रति युवालाई आकर्षण गराउन कार्यक्रम ल्याउनुपर्ने बताए । नेपालमा बर्सेनि छ हजार मेट्रिक टन च्याउको माग भए पनि अहिले दुई हजार पाँच सय मेटन मात्र उत्पादन हुने गर्छ ।
च्याउखेतीको सम्भाव्यता भएका स्थानमा प्रयोगशाला स्थापना गर्ने मन्त्रालयको नीतिअनुरुप सो स्थानमा च्याउ तालिम केन्द्र तथा प्रयोगशाला स्थापना गरिएको हो ।
हालसम्म झापा, पाल्पा, सुर्खेत जिल्लामा प्रयोगशाला स्थापना भइसकेको कीट विकास निर्देशनालयले जनाएको छ । बलम्बु क्षेत्रका कृषक तथा व्यवसायीले विसं २०३१ देखि नै च्याउखेती गर्दै आइरहेका छन् । पछिल्ला वर्षमा बलम्बु च्याउ सहकारी संस्था लिमिटेड स्थापना गर्दै किसानले यस खेतीलाई प्रवद्र्धन, विस्तार तथा बजारीकरण गरिरहेका छन् । हाल सो क्षेत्रमा छ कृषक व्यावसायिक रुपमा च्याउ खेतीमा लागिरहेका छन् ।
दैनिक रुपमा सो क्षेत्रबाट झन्डै पाँच सय किलो च्याउ उत्पादन हुने गरेको सो व्यवसायमा लागेकाहरुले जानकारी दिए । च्याउ बहुपयोगी जडीबुटीसमेत भएकाले क्यान्सर र बढी रक्तचाप भएका रोगीले यसको प्रयोग पछिल्लो समयमा तरकारी एवं झोलका रुपमा दैनिक भान्सामा प्रयोग गर्न थालेका छन् ।
साथै बढी पोषिलो र भिटामिनयुक्त भएकाले पनि च्याउको परिकार खानेहरु सहरी तथा ग्रामीण दुवै क्षेत्रमा बढिरहेको पाइन्छ ।