उद्योग वाणिज्य संघ महोत्तरी नेतृत्व छान्दै

काठमाण्डु टुडे २०७० पुष २० गते ५:५० मा प्रकाशित

बर्दिवास, २० पुस – महोत्तरी जिल्लाका उद्यमी व्यापारीहरु शनिबार उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनमा जुटेका छन् ।

जलेश्वर उद्योग वाणिज्य संघमा आबद्ध उद्योगी व्यापारीहरु आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व छान्न मतदानको तयारीमा जुटेका हुन् ।

अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र १० जना सदस्यसहित १५ सदस्यीय कार्य समिति हुने संघमा उपाध्यक्ष र कोषाध्यक्षबाहेक सबै पदमा प्रतिष्पर्धा भइरहेको छ ।

निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार गोपालकुमार महतो र कृपाशङ्कर साह नेतृत्वको दुई प्यानलबीच कडा प्रतिष्पर्धा हुने जिल्लाका आम उद्यमी व्यापारीको ठम्याइ छ ।

मतदान बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने संघको निर्वाचन मण्डलले जनाएको छ ।

निर्वाचनमा ६८७ जना सदस्यले मतदान गर्नसक्ने निर्वाचन मण्डलका अध्यक्ष सुरेशलाल कर्णले जानकारी दिए । संघको उपाध्यक्ष र कोषाध्यक्ष पदमा भने दीपुकुमार साह र विनोदकुमार साह यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us