
उदयपुर, २० पुस – उदयपुरको सदरमुकाम गाईघाटमा लामो समयदेखि रंगशालाको अभावमा खेलकुद आयोजना र व्यवस्थापन कार्यमा समस्या हुँदै आएको छ ।
रंगशाला नहुँदा जिल्ला सदरमुकाममा आयोजना हुने क्षेत्रीय तथा जिल्लास्तरका खेलहरु आयोजना गर्न नै समस्या हुने गरेको खेलकुदका पदाधिकारी बताउँछन् । सदरमुकाममा आयोजना हुने अधिकांश खेलहरु गाईघाटस्थित त्रियुगा उच्चमाविको प्राङ्गणमा सञ्चालन हुँदै आएका छन् ।
त्रियुगा उच्चमाविले खेलकुद कार्यक्रमलाई सफल बनाउन पटकपटक आफ्नो विद्यालयको प्राङ्गण उपलब्ध गराउँदा विद्यालयको पठनपाठनमा समस्या आउने गरेको प्राचार्य सुवास विष्ट बताउँछन् ।
खेलमैदानको अभावका कारण विद्यालय तथा अर्काको जग्गामा खेलकुद आयोजना गर्न बाध्य हुनु परेको जिल्ला खेलकुद विकास समितिका सचिव प्रकाश खड्काको भनाई छ ।
उदयपुरमा हाल उदयपुर गोल्डकप तथा राष्ट्रपति रनिङशिल्डलगायत क्षेत्रीय तथा जिल्लास्तरका विभिन्न खेल आयोजना हुँदै आएका छन् ।
जिल्ला खेलकुद विकास समितिले गाईघाट बजारको पूर्वपट्टि रहेको हवाई मैदानको सार्वजनिक जग्गामा रङ्गशाला निर्माण गर्न सुरु गरेको भए तापनि केही स्थानीयवासी र राजनीतिक दलले विरोध जनाएपछि अहिले उक्त कार्यसमेत बन्द भएको समितिका पदाधिकारीको भनाई छ ।
पूर्वाञ्चलकै द्वारको रुपमा रहेको उदयपुर जिल्लामा अहिलेसम्म खेलकुद विकास समितिको नाममा वा छुट्टै खेलमैदानको व्यवस्थापन हुन नसक्दा जिल्लामा आयोजना हुने क्षेत्रीय तथा जिल्लास्तरीय खेलसमेत रद्द गर्नुपर्ने बाध्यता रहेको एक खेल अधिकारी बताउँछन् ।
जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष ज्ञानेन्द्र बान्तावा भन्छन्, खेल मैदानको अभावमा विभिन्न समयमा आयोजना हुने फुटबल खेलहरु विद्यालयको खेलमैदान तथा प्राङ्गण मागेर खेल सञ्चालन गर्न बाध्य हुँदै आएका छौं ।’