
कञ्चनपुर, २० पुस – थारु समुदायको आर्थिक उन्नतिका लागि स्थापना गरिएको एक सामुदायिक संस्थाले भाडामा जमिन लिएर माछापालन सुरु गरेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र रामपुरविलासपुर–५ कानपुरमा रहेको पुष्पाञ्जली सामुदायिक संस्थाले भाडामा जमिन लिएर माछापालन सुरु गरेको हो ।
सामुदायिक संस्थाको आम्दानी बढाउने उद्देश्यले माछापालन गरेको संस्थाका सचिव किरण चौधरीले जानकारी दिए । ‘यस वर्ष विभिन्न जातका एक हजार ५०० माछाका भूरा पालिएका छन् ।
वार्षिकरुपमा एक लाख ५० हजारभन्दा बढी आम्दानी हुन्छ, यस वर्ष पनि डेढ लाखभन्दा बढी आम्दानी हुने अनुमान गरिएको छ । प्रतिकेजी रु १५० का दरले थोक बिक्री गरिन्छ’ उनले भने ।
सचिव चौधरीका अनुसार संस्थाले १० वर्षका लागि एक विगाहा जमिन लिजमा लिएर पाँचवटा पोखरी निर्माण गरी माछापालन गरेको हो ।
संस्थाले माछापालनमा चार जनालाई रोजगारीसमेत दिएको छ । माछाबाट आएको आम्दानी संस्थामा जम्मा गरी विपन्न वर्गको आर्थिक उन्नतिका लागि विभिन्न आयमूलक काममा लागानी गरिएको चौधरीले बताए ।