
सोलुखुम्बु, १९ पुस– जुम्लाको स्याउको बिरुवा सोलुखुम्बु लगिने भएको छ ।
जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुले जुम्लाबाट उन्नत जातको स्याउको बिरुवा सोलुखुम्बु लैजान लागेको हो । मौसम परिवर्तनका कारण स्याउमा विभिन्न खालका रोगहरू देखिएपछि जुम्लाबाट स्याउको बिरुवा ल्याउन लागेको कार्यालय प्रमुख मीनप्रसाद बुढाथोकीले जानकारी दिए ।
स्याउका बिरुवा लिन कृषि प्रसार अधिकृत थिरलाल गैरे जुम्ला गइसकेका छन् । हाल कृषकबाट माग सङ्कलन भइरहेकोले मागका आधारमा स्याउका बिरुवा वितरण गरिने बताइएको छ ।
जुम्लाबाट ल्याइएका बिरुवा कार्यालयले ५० प्रतिशत अनुदानमा बिक्री गर्ने जनाएको छ । गत साल जुम्लाका व्यापारीले स्याउका करिब १० हजार बिरुवा सोलुखुम्बु ल्याएर बिक्री गरेका थिए ।
नयाँ फल किवी, अंगुर र हलुवाबेदको बिरुवासमेत कार्यालयले बाहिरबाट झिकाएको छ । किबी सातयस, अंगुर चारसय र हलुवाबेदको ६ सय बिरुवा झिकाइसकेको कार्यालय प्रमुख बुढाथोकीले जानकारी दिए ।