
काठमाडौँ, १९ पुस – आउँदो माघ १० गतेदेखि चौथो लमजुङ महोत्सव हुने भएको छ ।
‘उद्योग व्यापार पर्यटन तथा कृषिको प्रवद्र्धन जलविद्युत्मा लगानी र संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ महोत्सव हुन लागेको हो । माघ १० देखि १९ गतेसम्म लमजुङ सदरमुकाम बेसीसहरको दनाई फाँटमा ‘चौथो लमजुङ महोत्सव हुन लागेको हो ।
लमजुङ उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको उक्त महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, कृषि तथा जडीबुटी, स्थानीय घरेलु तथा हस्तकला र पुष्प प्रदर्शनीका साथै विविध मनोरञ्जनात्मक कार्यक्रम हुने संघका अध्यक्ष भेषबहादुर पौडेलले बताए ।
जिल्लाका पर्यटकीय स्थलहरूको प्रचार प्रसार गरी समग्र पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार ऊर्जा क्षेत्रमा लगानीकर्तालाई पुँजी लगाउन अभिप्रेरित गर्ने, जिल्लामा व्यावसायिक कृषि, पशुपालन र जडीबुटीको प्रवद्र्धन गर्दै आर्थिक विकासमा टेवा पुर्याउने, स्थानीय उद्योग, व्यापार तथा हस्तकलाको प्रवद्र्धनमा सहयोग गर्ने र स्थानीय परम्परागत एवम् प्रविधिको सीप विकासमा महोत्सव केन्द्रित रहने छ । रासस