नेपाली क्रिकेट टिमसँग डराए युएइका कोच

काठमाण्डु टुडे २०७० पुष १९ गते १२:०७ मा प्रकाशित

Aaqib Javed-cropकाठमाण्डु, पुस १९ – नेपालसँगै एक दिवसीय विश्वकप क्रिकेट छनोट खेलको तयारीमा रहेको संयुक्त अरव इमिरेट्स ‘युएइ’का कोच आकिव जावेदले नेपाल आफूहरुका लागि कडा चुनौति भएको बताएका छन् ।

आइसीसीको आधिकारीक वेवसाइटकालागि आइसीसी प्रतिनिधिसँग कुराकानी गर्दै उनले नेपाल र स्कटल्याण्ड आफूहरुका लागि कडा चुनौति हुने बताएका हुन् ।

‘हाम्रो मुख्य फोकस भनेको बलिया प्रतिस्पर्धी नेपाल र स्कटल्याण्डसँग राम्रो खेल्ने हो, उनले भने ‘हङकङलाई हराउन धेरै समस्या पर्दैन र क्यानडाविरुद्ध हामीले श्रृंखला नै क्लिन स्विप गरिसकेका छौं ।’

उनी अझ थप्छन्, ‘नेपालले पछिल्लो दुई वर्षमा हामीलाई तीन पटक हराईसकेको छ । अर्को तथ्य के हो भने, विश्वकपमा छनोट भइसकेको अफगानिस्तानले पछिल्लो समय हामीलाई हराउन सकेको छैन, तर नेपाललाई हराएको छ । यो दृष्टिकोणबाट पनि हेर्नु जरुरी छ ।’

यही पुस २९ गतेबाट न्युजिल्याण्डमा सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपाल र युएइ आमने–सामने हुँदैछन् । ट्वान्टी–ट्वान्टी विश्वकपका लागि छनौट भइसकेका यी दुई टिम पहिलो खेलमै एक अर्का विरुद्ध भिड्ने भएका हुन् ।

यसअघि युएइमै भएको एसिसि एलिटकपमा समूह चरणमा नेपालले युएइलाई पराजित गरेको थियो भने फाईनल खेल बराबरीमा सकिएपछि दुबै टोलीले उपाधि बाँडेका थिए ।

त्यसपछि नेपालमै भएको एसिसि ट्वान्टी–ट्वान्टी एलिटकप क्रिकेट प्रतियोगिता र करिव एक महिना अघि युएइमै सम्पन्न टी–ट्वान्टीमा नेपालले युएइलाई निरास पारेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us