शीतलहरका कारण जनजीवन कष्टकर, हवाई उडान प्रभावित

काठमाण्डु टुडे २०७० पुष १९ गते ९:३५ मा प्रकाशित

Teraiनेपालगन्ज, १९ पुस– शीतलहर तथा बाक्लो कुहिरोका कारण पश्चिम तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ ।

तीन दिनअघि हिउँदे झरीपछि एक्कासी शीतलहर र बाक्लो कुहिरोले आकाश ढाकेपछि तराईका जिल्लामा घाम लाग्न सकेको छैन ।

चिसोसँगै बग्ने सिरेटोले पनि यस क्षेत्रका कमजोर घरसंरचना भएका परिवारहरु अधिक प्रभावित भएको पाइएको छ । अत्याधिक चिसाका कारण अत्यावश्यक कामबाहेक आम नागरिक घरदेखि बाहिर निस्केको पाइँदैन भने कार्यालयहरुमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ ।

स्थानीय अस्पतालमा अपच, रुघाखोकी, टाइफाइड, निमोनिया रोगका बिरामीको पनि चाप बढेको जनाइएको छ । स्थानीय प्रशासन कार्यालयले चिसाबाट नागरिकलाई जोगाउन आवश्यक गृहकार्य थालेको छ ।

चिसो अत्यधिक बढेपछि स्थानीय जनता आफ्नो टोलको चोकचोकमा आफैँले जोहो गरेका दाउरा बालेर बसेको देख्न सकिन्छ । नेपालगन्ज नगरपालिकाले आगो ताप्न दाउरा उपलब्ध नगराएपछि स्थानीय जनता आक्रोशित भएका छन् ।

तराईका साथै पश्चिम क्षेत्रका पहाडी तथा हिमाली जिल्लामा पनि हिउँ परेकाले त्यस क्षेत्रमा समेत अध्यधिक जाडो बढेको छ ।

तराईमा शीतलहर तथा बाक्लो कुहिरो र पहाडी जिल्लामा हिउँ परेपछि हवाई उडानसमेत प्रभावित भएको नागरिक उड्डयन कार्यालयले जनाएको छ । ‘भिजिबिलिटी’ नपुगेपछि नेपालगन्जबाट काठमाडौँलगायत कुनै स्थानमा पनि यहाँबाट उडान तथा अवतरण भएन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us