विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्नः कवीन्द्र बुर्लाकोटी

काठमाण्डु टुडे २०८३ जेठ २५ गते १४:२६ मा प्रकाशित

काठमाण्डू, २५ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले संसदमा विपक्षी दलहरूले माग गरेबमोजिम प्रधानमन्त्रीले जवाफ नदिने बताएका छन ।

आज (सोमबार) सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिने क्रममा रास्वपा महामन्त्री बुर्लाकोटीले यस्तो बताएका हुन ।

उनले नेपाल–भारत सीमा सम्बन्धि विवाद परराष्ट्र मन्त्रालय अन्तर्गत पर्ने भएकाले प्रधानमन्त्रीले जवाफ नदिने बताए । सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘संसद्को अवरोध अन्त्य गर्नका लागि सभापतिले विपक्षी दलका नेताहरूलाई आग्रह गर्नुभयो । सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले प्रस्ट पारिसकेको छ ।

आवश्यक परेको खण्डमा सदनमा पनि राख्न सकिन्छ भन्नुभयो, ‘संसद्को अवरोध हटाउने विषयमा धेरै अगाडि बढेको छ । प्रधानमन्त्री मातहत विभिन्न विषयगत मन्त्रालय छन् ।

सम्बन्धित मन्त्रीले नै सिङ्गो सरकारको प्रतिनिधित्व गरेर बोल्ने भनेकै त्यसमा प्रधानमन्त्री, सरकार र सरकारको नेतृत्व गर्ने दलको जवाफ हो ।’

बैठकमा विशेष गरी भारत भ्रमणबारे सभापति रवि लामिछानेले जानकारी दिएको समेत उनले बताएका छन । बैठकमा उठेका प्रश्नको जवाफ दिने प्रयास गरेको समेत उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us