भारतीय ठेकेदार भागेपछि बनेन बाटो

काठमाण्डु टुडे २०७० पुष १९ गते ९:२५ मा प्रकाशित

गौशाला, १९ पुस– महोत्तरीको जलेश्वर–जनकपुर–भिट्टामोड सडकखण्ड बनाउने भनिएपनि अझै बन्न सकेको छैन ।

साढे दुई वर्ष अघि यो बाटो राम्रो, चौडा र पिच रोड बन्ने भनिएको महोत्तरीको यो सडकखण्ड अब नबन्ने प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले बताए ।

सदरमुकाम जलेश्वरबाट उत्तरमा धनुषाको जनकपुर र दक्षिणमा भारतको भिट्ठामोड सीमा नाकासम्म भारत सरकारको सहयोगमा बनाइने भनिएको १४.७५ किलोमिटर सडक भारत सरकारले नबनाइदिने भनकोले नबन्ने निश्चित भएको थपलियाले बताए ।

यो सडकखण्ड निर्माण गर्न सन् २०११ को अगस्टमा ३० महिनाभित्र बनाउने भनी ठेक्का लिएको भारतको हैदरावादस्थित भिस्वा जेभी÷बिभिआरएस कम्पनीले सडक निर्माण नै नगरी भागेपछि यो सडकखण्ड अब नबन्ने भएको सडक योजना कार्यालय जनकपुरले जनाएको छ ।

योजना कार्यालय प्रमुख किशोरी रायले सडक बनाउने ठेक्का लिएकोे कम्पनी गत जुलाई महिनापछि नै सबै कामकाज छाडी अचानक भागेको र कम्पनीको ३० महिने म्याद पनि २०१३ डिसेम्बर ३१ का दिन समाप्त भइसकेको बताए ।

ठेकेदार कम्पनी पनि सम्पर्कमा आएका छैनन् । महोत्तरीलाई छिमेकी जिल्ला धनुषा र भारतसँग जोड्ने मुख्य सडकका रुपमा रहेको यो सडकखण्ड लामो समयदेखि मर्मत सम्भार र हेरचाह नहुँदा पूर्णरुपेण जीर्ण भइसकेको छ भने यस सडकखण्डमा दैनिक २/४ वटा सडक दुर्घटनाहरु हुने गरेका छन् ।

जिल्लाबासीले यो सडकखण्ड अब नेपाल सरकारले नै तुरुन्त बनाइदिनु पर्ने माग अघि सारेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us