पराजित उम्मेदवारले खर्च विवरण बुझाएनन्

काठमाण्डु टुडे २०७० पुष १९ गते ९:२३ मा प्रकाशित

election commition of nepalकाठमाण्डु, १९ पुस – मंसिर ४ मा सम्पन्न संविधानसभा निर्वाचनअन्तर्गत काठमाण्डु जिल्लाका सबै विजयी उम्मेदवारहरुले आफ्नो निर्वाचनको खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाए पनि पराजित केही उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् ।

कार्यालयले विजयी सबै उम्मेदवारको खर्च विवरण निर्वाचन आयोगले तोकेको मापदण्डभित्रमै आएको तर, पराजित हुने उम्मेदवारहरुको खर्च विवरण आउन बाँकी नै रहेको जानकारी दिएको छ ।

काठमाण्डुको दस क्षेत्रमध्ये सातवटामा नेपाली काँग्रेस र तीन वटामा नेकपा (एमाले)ले विजय प्राप्त गरेको थियो । मतपरिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र निर्वाचनमा भाग लिएका उम्मेदवारहरुले आफ्नो निर्वाचन खर्च निर्वाचन कार्यालयमा बुझाउनुपर्ने प्रावधान छ ।

निर्वाचन क्षेत्र नं १ मा ४७ उम्मेदवारमध्ये १३ जना, क्षेत्र नं २ मा ४६ मध्ये १३ जना, क्षेत्र नं ३ मा २८ मध्ये नौ जना, क्षेत्र नं ४ मा ४२ मध्ये १४ जना र क्षेत्र नं ५ मा २८ मध्ये १३ जनाले मात्र निर्वाचन खर्चको विवरण कार्यालयमा बुझाएका छन् ।

कार्यालयका अनुसार क्षेत्र नं ६ मा ३५ मध्ये १३ जना, क्षेत्र नं ७ मा ३२ मध्ये ११ जना, क्षेत्र नं ८ मा २८ मध्ये १४ जना, क्षेत्र नं ९ मा ४० मध्ये १४ जना र क्षेत्र नं १० मा ३९ मध्ये १५ जना उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us