खुना समुदायको प्रतिनिधि संविधानसभामा

काठमाण्डु टुडे २०७० पुष १९ गते ८:०२ मा प्रकाशित

कञ्चनपुर, १९ पुस – अल्पसंख्यकका खुना समुदायका प्रतिनिधिले पहिलो पटक संविधानसभामा प्रतिनिधित्व गर्ने अवसर पाएका छन् । दैजी गाविस– ६ धर्मपुरकी ३८ वर्षीया दुर्गा खुना खुना समुदायबाट पहिलो सभासद् बनेकी हुन् ।

एकीकृत नेकपा (माओवादी)ले निर्वाचन आयोगमा गत सोमबार बुझाएको समानुपातिकको सूचीमा उनको नाम समावेश छ ।

मुक्तकमैया नेताका रुपमा दुई दशकदेखि क्रियाशील खुना २०५९ सालदेखि राजनीतिमा क्रियाशील छिन् । मुक्तकमैया आन्दोलनमा चर्चित रहेकी उनी खुना समाज संगठन कञ्चनपुरको अध्यक्षसमेत हुन् ।

संविधानसभामा प्रतिनिधित्व गर्ने अवसर पाएकी खुनाले खुना समुदायको हक अधिकार स्थापित गराउनुका साथै आदिवासी जनजातिमा सूचीकृत गराउन पहल गर्ने बताइन् ।

उनले नयाँ बन्ने संविधानमा अल्पसङ्ख्यक उत्पीडित, सीमान्तकृत समुदायका पक्षमा आवाज उठाई हक अधिकारका लागि लड्ने बताईन् । परापूर्वकालमा दाङको देउखुरीको खोनपुरुवा, धनपुरुवा र गङ्दीमा बसोबास रहेको खुना समुदाय त्यहाँबाट तराईका बाँके बर्दिया, कैलाली र कञ्चनपुरमा आएका हुन् ।

यो समुदाय नदी किनारामा बसोबास गर्ने भएकाले माछा मार्ने, सुन छान्ने र डुङ्गा चलाउने कार्यमा निपूर्ण मानिन्छ । थारु समुदायसँग घुलमिल भएकाले थारु मानिँदै आएपनि यस समुदायको आफ्नै छुट्टै भाषा र संस्कृति रहेको छ ।
किसान नेता भीमदत्त पन्तले सुदूरपश्चिम क्षेत्रमा चलाएको किसान आन्दोलनमा समेत खुना समुदायका व्यक्तिको सहभागिता रहेको थियो । पन्तले चलाएको किसान विद्रोहमा खुना जातिका व्यक्तिहरु मुक्ति सेनाका रुपमा कार्यरत रहेका थिए ।

बाँके बर्दिया, कैलाली र कञ्चनपुरमा गरी झन्डै ३९५ परिवार खुना समुदाय बसोबास गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us