पाँच वर्षभित्र सोलु करिडोर निर्माण हुने

काठमाण्डु टुडे २०७० पुष १९ गते ७:५६ मा प्रकाशित

सोलुखुम्बु, १९ पुस – आगामी पाँच वर्षभित्र सोलु करिडोर प्रसारण लाइन निर्माण हुने भएको छ ।

ऊर्जा मन्त्रालयले प्रसारण लाइन निर्माणका लागि अनुमति दिएपछि आयोजना निर्माण हुने सुनिश्चितता बढेको एक्सेल–क्लिन सोलु हाइड्रो पावर कम्पनीका कार्यकारी निर्देशक आशिष गर्जले जानकारी दिए ।

एक सय ३२ केभीको डबल सर्किटको सो प्रसारण लाइन भारतको एक्जिम बैंकको सहुलियत ऋणमा निर्माण हुन लागेको हो । प्रसारण लाइन निर्माणका लागि दुई अर्ब ४० करोड लाग्ने अनुमान गरिएको छ ।
सो प्रसारण लाइन सिराहाको मिर्चैयाबाट २२ वटा गाविस पार गर्दै ओखलढुङ्गाबाट सोलुखुम्बुको तिङ्ला गाविसमा टुङ्गिनेछ । प्रसारण लाइनको कुल लम्बाइ ८८.४ किलोमिटर रहेको छ ।

सो प्रसारण लाइनको ३५२ मेगावाट विद्युत् प्रवाह गर्ने क्षमता रहेको छ ।  प्रसारण लाइनको निर्माणपछि पूर्वाञ्चलको विद्युत् सङ्कटको समस्या धेरै हदसम्म समाधान हुने निजी प्रवद्र्धकहरु बताउँछन् ।
सुपर सिक्सको नामबाट परिचित छ आयोजनामध्ये दुई आयोजना सोलुखुम्बुको सोलुखोला क्षेत्रमा निर्माण हुँदैछन् ।

चालु आर्थिक वर्षमै निर्माण थालिने सो प्रसारण लाइन आर्थिक वर्ष २०७५–७६ मा पूरा हुने बताइएको छ । आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कनलगायतका काम पूरा भइसकेको जनाइएको छ ।

विद्युत् विकास विभागका सिनियर डिभिजनल इञ्जिनियर गोकर्णराज पन्तका अनुसार प्रसारण लाइन निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृतसमेत भइसकेको छ । प्रसारण लाइन निर्माणबाट सिराहा, उदयपुर, ओखलढुङ्गा र सोलुखुम्बुका जलविद्युत् आयोजनालाई फाइदा पुग्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us