द्वन्द्वपीडितको एक करोड एक्लै झ्वाम

काठमाण्डु टुडे २०७० पुष १९ गते ७:५२ मा प्रकाशित

पाँचथर, १९ पुस – पाँचथरको दक्षिणी गाविस माङ्जाबुङ र सराङडाँडामा स्थापित फक्ताङ्लुङ चिया उत्पादक कम्पनी प्रालिको सेयर सदस्यहरुको नाममा शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट निकासा भएको एक करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कम्पनीका सेयरधनीहरुको नाममा कागजात पेस गरी रकम निकासा गरी हिनामिना गरेको आरोपमा प्रहरीले कम्पनीका कार्यकारी निर्देशक शन्तवीर आङ्देम्बेलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

कम्पनीका सेयर सदस्यहरुले स्थानीय शान्ति समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमार्फत कम्पनीको २२ जना सेयर सदस्यको नाममा आर्थिक वर्ष ०६८÷०६९ मा निकासा भएको एक करोड ११ लाख रकम आफूहरुले नपाएको र कम्पनीमा पनि लगानी भएको नपाएपछि सो रकम पाउनुपर्ने माग गर्दै प्रहरीमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा आङ्देम्बेलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक राकेश थापाले जनकारी दिए ।

स्रोतका अनुसार आङदेम्बेलाई पाँच दिनअघि पक्राउ गरिए पनि प्रशासनको निर्देशनमा घटनालाई गुपचुपमा राख्न प्रहरीले प्रयास गरेको थियो । तर सेयर सदस्यहरु नमानेपछि बिहीबार अबेरमात्र निर्देशक पक्राउ परेको खुलेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us