संविधानसभा बैठक बोलाउन पाउनुपर्ने राष्ट्रपतिको माग

काठमाण्डु टुडे २०७० पुष १९ गते ६:११ मा प्रकाशित

Ram-Baran-Yadavकाठमाण्डु, १९ पुस – राष्ट्रपति डा. रामवरण यादवले अन्तरिम संविधान संशोधन गरी राष्ट्रपतिबाटै संविधानसभाको बैठक आह्वान गर्ने व्यवस्था मिलाउन दलहरुलाई दवाव दिएका छन् ।

अन्तरिम संविधानमा सरकार प्रमुखले बैठक आह्वान गर्ने उल्लेख भए पनि विश्वमा चल्दै आएको परम्पराअनुसार राष्ट्रप्रमुखको हैसियतमा आफूले नै बैठक आह्वान गर्न पाउनु पर्ने यादवको तर्क छ ।

विहीबार प्रमुख दलका शीर्ष नेता र शुक्रबार साना दलका नेताहरुसँग छुट्टा–छुट्टै छलफल गरी यादवले अन्तरिम संविधान संशोधन गरेर भए पनि राष्ट्राध्यक्षबाटै संविधानसभाको बैठक आह्वान गर्ने व्यवस्था मिलाउन आग्रह गरेको सद्भावना अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।

‘राष्ट्रपतिज्यूले अन्तराष्ट्रिय मान्यता र परम्पराअनुसार राष्ट्राध्यक्षले नै संविधानसभाको बैठक आह्वान गर्नुपर्ने बताउनुभयो, महातोले भने, ‘अन्तराष्ट्रिय मान्यताअनुसार चल्नुपर्ने उहाँको तर्क छ ।’

भेटमा आफूले भने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएर यस विषयमा निर्णय गर्नुपर्ने बताएको महतोले जानकारी दिए ।

राष्ट्रपति यादवले शुक्रबार महातोसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्य बहादुर थापा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार र तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग शितल निवासमा छुट्टा–छुट्टै छलफल गरेका छन् ।

यसअघि विहीबार उनले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा एमाले अध्यक्ष झलनाथ खनाल र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए ।

यद्यपी अन्तरिम संविधान निर्माणताका तत्कालीन राष्ट्राध्यक्ष रहेका राजाको अधिकार निलम्बन गरी प्रधानमन्त्रीमा राखिएकोले संविधानमा सरकार प्रमुखले नै संविधानसभाको बैठक बोलाउने व्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us