असन्तुष्टलाई कारवाही गर्ने राप्रपा नेपालको तयारी

काठमाण्डु टुडे २०७० पुष १९ गते ५:३१ मा प्रकाशित

Rpp nepalकाठमाण्डु, १९ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पार्टी बिभाजन गर्न खोजेको भन्दै तीनजना केन्द्रीय सदस्यहरुलाई कारवाही गर्ने तयारी गरेको छ । अलग्गै पार्टी गठनको लागि निर्वाचन आयोगमा निवेदन दिएका २० सदस्यमध्ये प्रल्हाद शाह, घनेन्द्र सुब्बा र रुप सिंह थापालाई कारवाहीको तयारी गरेको हो ।

अन्य भने गल्ती स्वीकारेर पार्टीमा फर्किसकेका छन् । असन्तुष्ट पक्षको नेतृत्व गर्दै ‘नेपाली राप्रपा’ नामको नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका टंक ढकाल लगायतका नेताहरु पार्टीमा फर्किसकेका छन् । शुक्रबार मात्रै राजाराम श्रेष्ठ, रामचन्द्र चतुरवेदी र दशरथ जोशी पार्टीमा फर्किएका छन् ।
राप्रपा नेपालले पार्टी बिभाजनको तयारी गरेकाहरुलाई गल्ती सच्चाएर फर्किन ४८ घण्टे समयसीमा दिएको थियो ।

केन्द्रीय सदस्य मोहन श्रेष्ठले पार्टीले दिएको समयसीमा भित्र पनि नफर्किएकाहरुलाई शुक्रबारको केन्द्रीय समिति बैठकले कारवाहीको निर्णय गर्ने जानकारी दिए । ‘केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकले यसबारे निर्णय गर्छ,’ उनले भने ।

चार दिनदेखि जारी केन्द्रीय समिति बैठकले गरेका निर्णय शुक्रबार दिउँसो पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी राप्रपा नेपालले सार्बजनिक गर्दै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us