
भद्रपुर, १९ पुस – झापाको भद्रपुरमा शुक्रबार बिहान साढे सात बजेतिर आगलागी हुँदा करिब ४० लाख बराबरको क्षति भएको छ ।
भद्रपुर बजारका घुसरु हलुवाइको घरमा रहेका बिनाका टेलर्सबाट विद्युत् सर्ट भई सुरु भएको आगोले उनको १० लाख बराबरको सामान र नजिकको घर तथा होटेलका गरी १५ लाख बराबरको धनमाल क्षति भएको छ । वैदेशिक रोजगारमा रहेका छोराले पठाएको नगद पाँच लाखसमेत जलेर नष्ट भएको पीडित हलुवाइले जानकारी दिए ।
त्यसैगरी, नारायण हलुवाइको नगद ७० हजारका साथै कोठामा रहेका टेलिभिजन, फ्रिज, गरगहनासमेत गरी दुई लाख बराबरको सम्पत्ति नष्ट भएको छ ।
यसका साथै, बिनाका टेलर्सका सञ्चालक खेमचन्द्र हलुवाइको नगद दुई लाख र पसलमा रहेका कपडालगायतका सामान गरी रु आठ लाख, अर्का सूचीकार रहरबहादुर रनपाइलीको नगद एक लाख ८० हजारसमेत छ लाखका सामान, प्रियङ्का मोबाइल पसलका सञ्चालक रवी अग्रवालको पाँच लाख ५० हजार बराबरको मोबाइल लगायतका सामान जलेर नष्ट भएको पीडितले जानकारी गराएका छन् ।
पसल बन्द रहेको समयमा आगलागी भएको हो । स्थानीय जनता र प्रहरीका सहयोगमा भद्रपुर, मेचीनगर र दमक नगरपालिकका बारुणयन्त्र परिचालन गरी एक घन्टामा आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।