श्रीरामले किसानलाई २० करोड तिर्न बाँकी

काठमाण्डु टुडे २०७० पुष १९ गते ३:३६ मा प्रकाशित

चन्द्रनिगाहपुर, १९ पुस–सर्लाहीका उखु किसान सुनिल झा पाँच दिनदेखि गत वर्षको उखुको पैसा लिन मिलमा धाइरहेका छन् । झा जस्तै गत वर्ष उखुको भुक्तानीका लागि रौतहट, बारा, सर्लाहीका सयौं किसान केही दिनदेखि मिलमा दिनहुँ धाइरहेका छन् । सर्लाहीका झाले गएको वर्ष रौतहटको श्रीराम सुगर मिलमा उखु दिएबापत करिब ५० हजार रुपैयाँ लिन बाँकी छ ।

यस्तै रौतहट सखुअवा गाविसका किसान सुरेश यादवले पनि मिलसँग करिब ६० हजार रुपैयाँ लिन बाँकी छ । पुरानै पैसा लिन बाँकी भए पनि उनले यो वर्ष पनि शून्य मूल्यमा बेच्नका लागि  मिलमा उखु ल्याएका छन् । उनले भने, ‘किसान धेरै मारमा छन्, पुरानै पैसा पाएको छैन नयाँको त कहिले हो कहिले ।’

रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिलले १०० भन्दा बढी किसानको गत वर्षको उखुको करिब २० करोड रुपैयाँ किसानलाई भुक्तान गर्न बाँकी छ । समयमा नै चिनी मिलले उखुको पैसा नदिँदा केही उखु किसानले यो वर्ष उखु खादसारी (सक्खर उद्योग)मा बिक्री गर्न थालेका छन् ।

गत वर्ष चिनी उत्पादक संघ र उखु उत्पादक महासंघबीच भएको सहमतिअनुसार उखु प्रतिक्विन्टल ४८१ रुपैयाँ रहेको थियो । यो वर्ष सहमति नहँुदा किसानले शून्य मूल्यमा उखु मिललाई दिएका छन् । रौतहटको सङ्ग्रामपुरमा रहेको खादसारीले प्रतिक्विन्टल ३०० रुपैयाँमा उखु खरिद गरिरहेको छ । सो ठाउँमा १० भन्दा बढी सक्खर उद्योगहरु सञ्चालनमा छन् ।

खादसारी (सक्खर उद्योग)ले नगद दिने र खेतमा अन्यबालीसमेत समयमा नै लगाउन पाइने भएकाले सस्तोमा उखु बिक्री गरेको रघुनाथपुर गाविसका उखु किसान चन्द्रदेव पासवानले बताए । पासवानले पनि मिलबाट करिब ३० हजार रुपैयाँ गत वर्ष उखु बिक्री गरेको पैसा लिन बाँकी छ ।

रौतहटमा यस वर्ष ६ हजार ८१९ बिघामा खुटी र आठ हजार ३६६ बिघामा मुरहन गरी जम्मा १५ हजार ३९९ बिघा जमिनमा उखुबाली लगाइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । श्रीराम सुगर मिलले यस वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ । गत वर्ष मिलले करिब २० लाख क्विन्टल उखु क्रसिङ गरेको थियो ।

सो मिलका महाप्रबन्धक अशोक सिंहले उखुको मूल्य निर्धारण हुन नसकेपछि प्रतिक्विन्टल ४०० रुपैयाँ पेस्की दिने सहमतिमा मिल सञ्चालनमा आएको जानकारी दिए । महाप्रबन्धक सिंहले किसानको बाँकी रहेको पुरानो रकम तालिका बनाएर २५ दिनभित्र करिब २० करोड भुक्तान गर्ने प्रतिबद्धता जनाए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us