
काठमाण्डु, १९ पुस– एकीकृत नेकपा माओवादीका नेता गोपाल किराँतीले डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पार्टी फुटाउने उद्देश्यले ४० प्रतिशत सभासद मागेको आरोप लगाएका छन् । पार्टी फुटाउन ४० प्रतिशत सभासद चाहिने भएकाले त्यही आधार बनाउन भट्टराई र श्रेष्ठले त्यत्ति नै भाग खोजेको उनको दावी छ ।
‘पार्टी फुटाउने आधार बनाउन उहाँहरुले ४० प्रतिशत माग्नु भयो,’ शुक्रबार विहान एभिन्युज टेलिभिजनसँगको अन्तरवार्तामा किराँतीले प्रश्न गर्दै भने, ‘नत्र चालिस प्रतिशत नै सभासद चाहिनुको कारण के ?’
समानुपातिक सभासद छान्ने जिम्मा पाएको केन्द्रीय कार्यालयको बैठकमा सहभागी नहुने र अहिले चित्त बुझेन भनेर कुरा झिक्नुको अर्थ नभएको उनको भनाइ छ । अध्यक्ष प्रचण्डले बैठकमा बोलाउँदा पनि भट्टराई र श्रेष्ठ बैठकमा सहभागी हुन अस्वीकार गरेको किराँतीले जानकारी दिए । ‘अध्यक्षले आउनुस् बैठक बसौं, तपाईंहरु आउनु हुन्न भने बरु म आउँछु भन्दा पनि उहाँहरुले जे जे गर्नुपर्छ तपाईं नै गर्नुस् भन्नुभयो, अहिले चाहिँ बखेडा झिक्दै हुनुहुन्छ,’ किराँतीले भने ।
कार्यालयको बैठकमा भट्टराई र श्रेष्ठ सहभागी नभएपछि पोष्टबहादुर बोगटी, टोपबहादुर रायमाझी र गिरीराजमणि पोख्रेललाई सभासदको नामावली टुंगो लगाउन भनिएको थियो । तर, त्यो बैठकमा पनि भट्टराई निकट रायमाझी र श्रेष्ठ निकट पोख्रेल सहभागी भएनन् । त्यसपछि बोगटी, बर्षमान पुन लगायतका नेताहरुले समानुपातिक सभासदको नामावली टुंगो लगाएका थिए । नामावली चयनको क्रममा पुनले भट्टराई र श्रेष्ठले राखेका प्रस्ताव अस्वीकार गरेको खबर सार्बजनिक भएको थियो । अहिले समानुपातिक सभासदको किचलो उत्कर्षमा पुग्नुको कारण पुन नै रहेको चर्चा छ ।
नेता किराँतीले भने पुनले भट्टराई र श्रेष्ठको प्रस्ताव अस्वीकार गरेर ठीक गरेको भन्दै प्रशंसा गरे । ‘उहाँहरु (भट्टराई र श्रेष्ठ)लाई ४० प्रतिशत दिन बर्षमान पुनले नमानेको भन्ने कुरा आएको छ । यदि यो सही हो भने उहाँले एकदम ठिक गर्नुभयो,’ नेता किराँतीले भने, ‘उहाँले पार्टी फुटाउने आधारलाई रोक्नु भयो ।’
नेता भट्टराईले आफ्नै निवासमा पत्रकार सम्मेलन गरी पार्टी फुटाउन नखोजेको स्पष्ट पारिसकेका छन् । उनले पार्टीमा बैचारिक संघर्ष पहिलैदेखि हुदै आएको र अहिले पनि त्यसैको निरन्तरता भएको बताएका छन् ।
नेता किराँतीले भने भट्टराईको कार्यशैलीलाई बैचारिक संघर्ष भन्न नमिल्ने तर्क गरे । ‘कार्यालयको बैठकमा बस्नै नजाने बैचारिक संघर्ष हो ?’ उनले प्रश्न गर्दै भने, ‘उहाँहरुले त निर्वाचन आयोगले तोकेको अन्तिम समयसीमा पुस १५ गते समानुपातिक सभासदको सूची बुझाउन रोक्न खोज्दै हुनुहुन्थ्यो, के यो पनि बैचारिक संघर्ष हो ?’ उनले भट्टराई र श्रेष्ठले संकटकोबेला संकट थोपर्ने र प्रचण्डको मृत्युमा जीबन खोज्ने गरेको आरोप समेत लगाए ।
उनले नयाँ पार्टी खोल्न भट्टराईलाई चुनौती समेत दिए । यदि नयाँ पार्टी खोले आफूले स्वागत गर्ने उनको भनाइ छ । ‘अब उहाँहरुले अर्को पार्टी खोल्नुपर्छ, किनभने उहाँहरुले बोलिसक्नु भएको छ, आफूले बोलेको कुरा पूरा गर्नुपर्छ ।’