नियमविपरीतका क्रसर उद्योग बन्द हुने

काठमाण्डु टुडे २०७० पुष १९ गते १:५५ मा प्रकाशित

विराटनगर, १९ पुस–मोरङका विभिन्न खोलामा नियम कानुनविपरीत सञ्चालनमा रहेका क्रसर उद्योग असार मसान्तपछि बन्द गर्ने स्थानीय प्रशासनले चेतावनी दिएको छ । नेपाल सरकारले गत असोजमा गरेको निर्णयअनुसार नियमविपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गरिन लागेका हुन् ।

मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगहरुलाई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बताए ।

क्रसर उद्योगहरुले प्राकृतिक स्रोत र साधनको व्यापक दुरुपयोग गरेको गुनासो आएपछि अनुगमन समिति गठन गरिएको थियो । प्रहरी प्रमुख, स्थानीय विकास अधिकारीलगायत सरकारी कार्यालयका प्रमुख रहने गरी ‘प्राकृतिक स्रोत साधन अनुगमन समिति’ गठन गरिएको हो ।

समितिले बुधबार ती उद्योगहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा मोरङको उत्तरी क्षेत्रमा गछिया खोलामा स्काभेटर, लोडर, डोजर लगायतका भारी उपकरण प्रयोग गरी वन क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा सङ्कलन गर्दा ठूल्ठूला खाडलहरु बनाएको फेला परेको थियो । मोरङ जिल्लामा १३ वटा क्रसर उद्योग दर्ता भए पनि सातवटा मात्र सञ्चालनमा रहेको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us