रविन्द्रप्रताप शाहलाई अध्यक्षले प्रस्ताव गर्नुभएको हो : नारायणकाजी श्रेष्ठ

काठमाण्डु टुडे २०७० पुष १८ गते १५:२५ मा प्रकाशित

Narayankajiकाठमाण्डु, १८ पुस–एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठले पूर्वप्रहरी प्रमुख रविन्द्रप्रताप शाहलाई सभासद बनाउने प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको बताएका छन् ।

श्रेष्ठले पार्टीले समानुपातिक सभासदको बन्द सूची बुझाउने बेलामै अध्यक्ष प्रचण्डले सेना प्रहरीका कोही साथीहरुलाई पनि समावेश गरौं भनेर शाहको नाम प्रस्ताव गरेको बताए ।

बिबिसी नेपाली सेवासँग कुरागर्दै श्रेष्ठले शाहले आइजिपी हुँदा खेलेको भूमिका सकारात्मक भएकै कारण त्यतिबेला प्रस्ताव गरेपनि निर्वाचन आयोगमा अन्तिम सूची बुझाउने बेलामा आफूहरुसँग कुनै छलफल नभएको बताए ।

उनले आफ्नो तर्फबाट एक जनाको नाम पनि सभासदको लागि सिफारिस नगरेको समेत बताए । पार्टीमा रुपान्तरण गर्नकै लागि आफूहरुले संघर्ष गरेको भन्दै श्रेष्ठले पार्टीमा पद्धती बसाल्न खोजेको बताए । कम्युनिष्ट पार्टीमा विचारको संघर्ष भइरहनुपर्ने भन्दै श्रेष्ठले पार्टीलाई रुपान्तरण गर्न आफूहरु लागिपरेको बताए ।

उनले समानुपातिकको सूची बुझाउन डेढ घण्टा बाँकि हुँदा पनि गृहकार्य नसकिएको भन्दै अलमल्याउन खोजेकाले आफूहरुले बैठक छोडेर हिँडेको बताए । उनले आफूहरु पदको आशक्तिमा नलागेको पनि बताए । उनले पार्टीभित्र न्यायका लागि समस्या उजागर गरेको पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us