सूची नसच्चिनु गम्भीर त्रुटी : भट्टराई

काठमाण्डु टुडे २०७० पुष १८ गते १३:२० मा प्रकाशित

baburam_250काठमाण्डु, १८ पुस – एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले समानुपातिक सभासदको सूची नसच्याउनुलाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् ।

भट्टराईले सूची सच्याउने अपेक्षामा आफू भएपनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नसच्याएको भन्दै यसले आफूलाई गम्भीर बनाएको बताएका छन् ।  ‘हामी सूची सच्चिने अपेक्षामा थियौं तर सच्चिएन,’ भट्टराईले भने, ‘यसले हामीलाई गम्भीर बनाएको छ ।’

आफ्नै निवास सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले सभासदको सूची नसच्याइएको विषयलाई पार्टीको आउँदो केन्द्रीय समितिको बैठकमा गम्भीर रुपमा उठाउने बताए ।

उनले आफूहरु पार्टीको रुपान्तरण सहितको एकताको पक्षमा रहेको भन्दै पार्टी विभाजनको हल्ला फैलाइएको भन्दै अशन्तुष्टि व्यक्त गरे । भट्टराईले आफू पार्टी फुटाउने पक्षमा नरहेको प्रष्ट पारेका छन् ।

समानुपातिकतर्फका सभासद छनोट गर्दा अरु पार्टीमा जस्तै विकृति एकीकृत माओवादीमा पनि देखिएको भन्दै उनले केन्द्रीय समितिमा गम्भीर बहस गर्ने बताए । भट्टराईले आफू नेतृत्व परिवर्तनको पक्षमा नरहेको समेत प्रष्ट पारेका छन् ।

उनले आफू सधैं पार्टीको लोकतान्त्रिकरणको पक्षमा रहेको भन्दै लोकतान्त्रिक विधिबाट नेतृत्व चयनको पद्धती बनाउने बताए । भट्टराईले केन्द्रीय समितिले नेतृत्व चयनको विधि बनाउने भन्दै त्यसै अनुरुप सबै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

यसअघि एकीकृत माओवादीका नेताहरु भट्टराई र नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डलाई समानुपातिक सभासदको सूची सच्याउन दावव दिएपनि प्रचण्डले सूची सच्याउन अस्विकार गरेपछि आक्रोशित बनेका भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us