
काठमाण्डु, १८ पुस – अपाङ्गता भएका ५८ प्रतिशत महिलाले आफ्नो जीवनभर कुनै न कुनै बेला हिंसा खेप्ने गरेको पाइएको छ ।
राष्ट्रिय महिला अयोग, दिदीबहिनी र हेल्भिटासको आयोजनामा विहीबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका महासचिव टीका दाहालले अन्य महिलाको तुलनामा अपाङ्गता भएका महिला बढी हिंसामा पर्ने गरेको बताए ।
उनले कार्यक्रममा प्रस्तुत गरेको कार्यपत्रमा अपाङ्ग ५५ प्रतिशत महिला मानसिक हिंसा, ३४ प्रतिशत शारीरिक र २२ प्रतिशत यौनजन्य हिंसाको सिकार हुने गरेका छन् । महासचिव दाहालले महिलाका लागि छुट्टयाइएको ३३ प्रतिशत आरक्षणभित्र अपाङ्ग महिलालाई समावेश नगराइएको गुनासो गरे ।
युनिफेमका दक्षिण एसियाली क्षेत्रीय निर्देशक चाँदनी जोशी र सहभागितामूलक विकासका विशेषज्ञ डा शिवेशचन्द्र रेग्मीले गरिबीमा रहेको परिवारका महिलामाथि बढी हिंसा हुने गरेको विभिन्न अध्ययनले देखाएको जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगका सदस्य मोहना अन्सारी, काठमाण्डुका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतम, गैसस महासंघका अध्यक्ष शर्मिला कार्कीलगायतले महिलाहिंसा न्यूनीकरण गर्न पुरुषको साथ पनि उत्तिकै आवश्यक रहेकोमा जोड दिएका थिए ।