
काठमाण्डु, १८ पुस – सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत विहीबार भएका खेलमा थ्रीस्टार र मनाङ मस्र्याङ्दी क्लव विजयी भएका छन् ।
दशरथ रंगशालामा भएको पहिलो खेलमा थ्रीस्टारले ब्वाइज युनियनलाई ३–१ तथा दोस्रो खेलमा मनाङले सशस्त्र प्रहरीको एपिएफलाई ३–० ले पराजित गरेका हुन् ।
यही सिजनको एनसेल कप फुटवलमा ब्योहोरेको हारको बदला लिनेक्रममा थ्रीस्टारका लागि सन्तोष साहुखल, विजय गुरुङ र जगजित श्रेष्ठले एक–एक गोल गरे ।
ब्वाइज युनियनका लागि कमल श्रेष्ठले सान्त्वना गोल फर्काएपनि टिमलाई जिताउन सकेनन् ।
यस्तै दोस्रो खेलमा दीपक राईले २ र योना इलियासले १ गोल गर्दै मनाङलाई दोस्रो जित जिताएका हुन् । जितसँगै २ खेलबाट मनाङले ६ अंक जोडेको छ भने, एपिएफको ३ अंक छ ।