सुडान सरकार र विद्रोहीका प्रतिनिधि इथोपियामा

काठमाण्डु टुडे २०७० पुष १८ गते ९:४० मा प्रकाशित

इथोपिया, १८ पुस–दक्षिण सुडानमा करिब तीन हप्तायता जारी रहेको द्वन्द्व अन्त्यका  लागि  सरकार र विद्रोही नेताबीच हुने भनिएको शान्तिवार्ताका लागि दुवै पक्षका प्रतिनिधि बिहीबार इथोपियाको राजधानी आडिस् आबाबा पुगेका छन ।
हालैका दिनमा जारी रहेको भनिएको सो द्वन्द्वको अन्त्यका लागि वार्ताको प्रयास भने भइरहेको थियो । करिब तीन हप्तादेखि जारी रक्तपातपूर्ण यस द्वन्द्वका कारण विश्वकै सबभन्दा कान्छो देशका रुपमा रहेको दक्षिण सुडानमा हजारौँ व्यक्तिको ज्यान गइसकेको  छ । त्यसैगरी सो द्वन्द्वका कारण लाखौँ विस्थापित भएका छन् ।
वार्ताका लागि आडिस् आबाबामा दुवै पक्षबाट आ–आफ्ना प्रतिनिधि मध्यस्थकर्ताहरु  बुधबार साँझ नै  आइपुगेका र  बिहीबार वार्ता हुने अनुमान गरिएको इथोपियाका विदेश मन्त्रीले जानकारी दिए ।
संयुक्त राष्ट्रसंघका विषेश दूत हिल्डे जोनसनका अनुसार सरकारले शान्ति वार्ताका लागि प्रतिनिधि पठाएका हुनाले सो वार्ताका लागि सरकार सकारात्मक रहेको छ  ।
दक्षिण सुडानमा सैनिक विद्रोहका कारण जारी द्वन्द्वको शान्तिपूर्ण अन्त्य गर्नका लागि संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले पनि बारम्बार सुडानका नेताहरूसँग आग्रह गरेका थिए ।
महासचिव मुनले दक्षिण सुडानका नेताहरूलाई शान्तिपूर्ण रुपमा यस द्वन्द्वको अन्त्य गर्दै नागरिकप्रतिको जिम्मेवारी बहन गर्न आग्रह गरेका थिए ।
यस हिंसाबाट आफ्ना घरपरिवारसहित आवासीय भवनबाट करिब दुई लाख व्यक्ति  विस्थापित भएका छन् । करिब तीन हप्तादेखि जारी रहेको यस हिंसाको कुनै मापन नै गर्न नसकिएको विश्लेषकहरुको भनाइ रहेको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि देश खतरनाक रुपमा गृहयुद्धको दलदलमा फस्ने खतरा बढिरहेकाले तत्कालै यी समस्याको समाधानका लागि सबै पक्षलाई गम्भीर हुन आग्रह पनि गरेका छन ।
दक्षिण सुडानका राष्ट्रपति साल्भा किइरका सेनाले पूर्व राष्ट्रपतिका रिएक मचारका  सेनालाई सैनिक कु गर्न खोजेको आरोपमा सो द्वन्द्व सुरु भएको बताइएको छ ।
तरपनि पूर्व राष्ट्रपतिले भने आफूले त्यस्तो नगरेको भन्दै यो आफूमाथि लगाइएको आरोपमात्र भनी बताउँदै आउनुभएको छ । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us