
भक्तपुर–मिर्गौलाको सफल प्रत्यारोपण गर्दै आएको मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले पित्तथैलीको शल्यक्रिया सुरु गरेको छ । मिर्गौला झिक्ने, प्रत्यारोपण गर्ने, डायलाइसिस गर्ने सेवा दिँदै आएको केन्द्रले पेटसम्बन्धी उपचारसमेत सुरु गरेको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।
केन्द्रले जनवरी १ बुधबारदेखि टेलिस्कोप प्रविधिबाट पित्तथैलीमा हुने पत्थरी, मिर्गौलामा हुने पत्थरीको शल्यक्रियालगायत पेटसम्बन्धी अन्य रोगको समेत उपचार सुरु गरेको उनले बताए ।
अस्पतालले जनवरी १ देखि नै इन्डोस्कोपी (इआरसिपि) सेवा सञ्चालन गरेको छ । यसका लागि जर्मनीबाट ल्याइएको मेसिन प्रयोगमा ल्याइएको छ । यो सेवा सुरु गर्दा आवश्यक जनशक्तिसमेत थप गर्न प्रक्रिया पूरा गरिसकेको उनले बताए ।
कार्यकारी निर्देशक डा श्रेष्ठले भने,“विश्वमा हुने सबै उपचार सेवा यही केन्द्रबाटै दिने तयारीका साथ अगाडि बढेका छाँै, आगामी एक वर्षभित्र यहीबाट कलेजो प्रत्यारोपण गर्ने योजनाका साथ कार्य भइरहेको छ ।
उनले मिर्गौला जस्तै यस केन्द्रमा सहज रुपमा कलेजोसम्बन्धी सबै शल्यक्र्रिया गर्ने र कलेजो प्रत्यारोपण गर्ने उद्देश्यका साथ पित्तथैलीको पत्थरीको शल्यक्रिया एवम् पेटसम्बन्धी सबै रोगको उपचार सुरु गरिएको बताए ।
डा. श्रेष्ठले भने,“केन्द्रले कलेजो प्रत्यारोपणका लागि तयारी सुरु गरिसकेको छ, यसै आवभित्र कलेजो प्रत्यारोपणका लागि दक्ष जनशक्ति उत्पादन गर्न बेलायतमा तालिमका लागि पठाउने भएका छौं ।”
यहाँ तीन दिन अघिसम्म २० वटा डायलाइसिस मेसिन सञ्चालन भइरहेकामा बुधवारदेखि यसलाई दोब्बर बनाएर एकैपटक ३६ वटा मेसिन सञ्चालनमा ल्याइएको छ ।
नेपालमा दुई ठाउँमा मात्रै हेपाटाइटिस ‘बी’ र ‘सी’ का बिरामीलाई डायलाइसिस सेवा दिने गरिएकामा केन्द्रले पनि यो सेवा दिन सुरु गरेको छ ।
केन्द्रले मुलुकमै पहिलो पटक टेलिस्कोप प्रविधिद्वारा मिर्गौला दाताको शल्यक्रिया गर्न सुरु गरेको छ । विदेशमा यसअघि नै यो प्रविधि प्रयोगमा आए पनि नेपालमा भने केन्द्रले यो प्रविधि भित्र्याएपछि टेलिस्कोप प्रविधिद्वारा शल्यक्रिया सुरु भएको हो ।
विगतमा मिर्गौला दान गर्ने व्यक्तिको मिर्गौला झिक्दा शरीरको धेरै भाग चिरेरमात्रै मिर्गौला निकाल्ने गरिन्थ्यो भने यो प्रविधि सुरु भएपछि मिर्गौला निकाल्न जत्रो प्वाल चाहिन्छ, त्यतिमात्रै चिरिने भएको केन्द्रका प्रमुख डा. श्रेष्ठले जानकारी दिए । रासस