
काठमाण्डु, १८ पुस – भारतीय निर्माण कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर)ले माथिल्लो मस्र्याङ्दी (दोस्रो) जलविद्युत् परियोजना बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
विभिन्न भारतीय सञ्चार माध्यमले जिएमआर उक्त परियोजना छाडेर नेपालबाट बाहिरिन लागेको भन्ने समाचार सार्वजनिक गरेपछि उक्त कम्पनीले त्यसलाई पूर्णरुपमा आधारहीन भन्दै खण्डन गरेको छ ।
नयाँदिल्लीस्थित कम्पनीको प्रधान कार्यालयले गएराति अबेर जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘हालै विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्तीय निगम (आइएफसी)सँग उक्त आयोजनामा संयुक्त विकास सम्झौता भएको छ, जुन परियोजनालाई द्रुत गतिमा अघि बढाउने दिशामा महत्वपूर्ण कदम हो ।’
परियोजनासम्बन्धी अन्य कपोलकल्पित समाचारको खण्डन वा टिप्पणी गर्नु नपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।