संविधानसभाको बैठकबारे राष्ट्रपतिको परामर्श

काठमाण्डु टुडे २०७० पुष १८ गते ११:४० मा प्रकाशित

rambaran with khilrajकाठमाण्डु, १८ पुस– राष्ट्रपति रामवरण यादवले संविधानसभा बैठक आह्वानबारे परामर्श थालेका छन् । पहिलो बैठक राष्ट्राध्यक्षले आह्वान गर्ने की सरकार प्रमुखले भन्ने विवाद जारी रहँदा राष्ट्रपतिले यसबारे परामर्श सुरु गरेका हुन् ।

उनले विहीबार विहान मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँग छलफल गरेका छन् । राष्ट्रपतिको कार्यालय शितल निवासमा उनीहरुबीच विहान ९ बजेदेखि झण्डै एकघण्टा छलफल भएको थियो ।

भेटमा समसामयीक राजनीतिक परिस्थितिबारे कुराकानी भएको रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए ।

मुख्य तीन दलसँग पनि परामर्श

राष्ट्रपति यादवले विहीबार नै मुख्य दलका शीर्ष नेताहरुसँग पनि कुराकानी गरेका छन् ।  मध्यान्ह काँग्रेस सभापति सुशिल कोइरालासँग भएको छलफलमा यादवले सहमतिय सरकार गठन गर्न कोइरालाई सुझाव दिएको बुझिएको छ । दिउँसो एमाले अध्यक्ष झलनाथ खनालसँग पनि भेटवार्ता गरेका यादवले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेलुकी छलफल गरेका छन् । प्रचण्डसँगको छलफलमा संविधानसभा बैठक आव्हानको विषयमा कुरा भएको थियो । राष्ट्रपति यादवलाई अध्यक्ष प्रचण्डले र यो विषय उच्च स्तरीय राजनीतिक समितिले टुंग्याउनुपर्ने जवाफ दिएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

निर्वाचन आयोगले दोस्रो संविधानसभा निर्वाचनका विजयी सभासदहरुको विवरण राष्ट्रपति समक्ष बुझाएपछि राजपत्रमा प्रकाशित गरी संविधानसभाको पहिलो बैठक आह्वान हुने छ ।

पहिलो बैठक राष्ट्राध्यक्षले गर्ने की सरकार प्रमुखले गर्ने भन्नेमा भने विवाद छ । अन्तरिम संविधानमा प्रधानमन्त्रीले बैठक आह्वान र अन्त्य गर्ने उल्लेख छ । तर, अन्तराष्ट्रिय प्रावधान र राष्ट्राध्यक्ष रहेको अवस्थामा राष्ट्रपतिबाटै बैठक आह्वान हुनुपर्ने एकथरीको तर्क छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us