भष्टाचारका कारण भारतको हेलिकप्टर खरिद सम्झौता रद्द

काठमाण्डु टुडे २०७० पुष १७ गते १३:०९ मा प्रकाशित

नयाँ दिल्ली, १७ पुस– भ्रष्टाचारका कारण भारतले भिआइपीका लागि गर्न लागेको हेलिकप्टर खरिद प्रक्रिया रद्द गरेको छ ।

भिआइपीका लागि अगस्तावेस्टल्यान्डबाट ७५ करोड ३० लाख डलरमा हेलिकप्टर खरिद गर्ने गरी भएको सम्झौता भ्रष्टाचार काण्डका कारण रद्द भएको हो ।

प्रतिरक्षामन्त्री एके एन्टोनीले प्रधानमन्त्री मनमोहन सिंहसँग बैठकपछि उक्त सम्झौता रद्द गरेका हुन् । इटालीका अनुसन्धानकर्ताले अगस्तावेस्टल्यान्डले उक्त ठेक्का प्राप्त गर्न घुस दिएको आरोपमा अनुसन्धान गर्न थालेपछि भारतले सन् २०१३ मा उक्त सम्झौतालाई स्थगन गरेको थियो । अगस्तावेस्टल्यान्डको मूल कम्पनी फिनमेकानिकाका इटालीका प्रमुखलाई गत फेब्रुअरी महिनामा पक्राउ गरिएको थियो ।

यसले भारतमा निकै विवाद उत्पन्न गराएको थियो । भारतमा यो वर्ष आम निर्वाचन हुँदैछ भने सत्ताधारी कङ्ग्रेस पार्टीमाथि भ्रष्टाचारका अनेकौं आरोप लागेको छ । भारतले सन् २०१० मा अगस्तावेस्टल्यान्डबाट १२ वटा हेलिकप्टर खरिद गर्ने भन्ने विषयमा सम्झौतामा हस्ताक्षर गरेको थियो । यो कम्पनीले यसका लागि प्रतिस्पर्धी अमेरिकी तथा रसियाली कम्पनीलाई पराजित गरिदिएको थियो ।

गत नोभेम्बरमा हेलिकप्टर बनाउने यस कम्पनीले उक्त ठेक्का कायम राख्न मध्यस्थताका लागि आग्रह गरेको थियो । इटालीका सरकारी अधिवक्ताहरुले उक्त ठेक्का पाउन १० प्रतिशत अर्थात ६ करोड ७६ लाख अमेरिकी डलर भारतीय अधिकारीलाई घुस दिएको आरोप अगस्तावेस्टल्यान्डमाथि लगाएको त्यहाँका आमसञ्चारले उल्लेख गरेका छन् ।

भारतले हालसम्म तीनवटा हेलिकप्टर प्राप्त गरिसकेको छ । यसलाई प्रधानमन्त्री, मन्त्री तथा राष्ट्रपतिका लागि उपयोग गर्ने उद्देश्य राखिएको थियो । भारतको महालेखा परीक्षकले गत वर्ष एक प्रतिवेदनमा प्रतिरक्षा मन्त्रलयले खरिद प्रक्रिया तथा टेन्डरका अनेकौं स्तरमा परिवर्तन गरेको र हेलिकप्टरले लिनुपर्ने आवश्यक उचाइ पनि घटाएको उल्लेख गरेको छ । भारतीय गुप्तचरहरुले घुस लिएको आरोपमा वायुसेनाका पूर्व प्रमुख एसपी त्यागीको घरमा छापा मारेका थिए ।

त्यागीले आफूले कुनै गलत काम नगरेको बताएका थिए । रकम त्यागीका भतिजालाई दिइएको र रकम उपलब्ध गराउन लन्डन, स्विजरल्यान्ड, ट्युनिसिया तथा मौरिससका मध्यस्थकर्ताहरुको सहयोग लिइएको बताइएको छ ।

यस खरिदको विषयमा इटालीका अनुसन्धानकर्ताहरुले पनि विदेशी अधिकारीलाई घुस दिइ कानुन तोडेको आरोपमा अनुसन्धान गरिरहेका छन् । यस कम्पनीले भने आफूले कुनै गलत काम नगरेको दाबी गरेको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us