सुडान वार्ताको अमेरिकाद्धारा स्वागत

काठमाण्डु टुडे २०७० पुष १७ गते ११:४७ मा प्रकाशित

बासिङ्गटन, १७ पुस– दक्षिण सुडान सरकार र विद्रोही नेताबीच सुडानमा केही हप्तायता जारी रहेको द्वन्द्व अन्त्यको लागि हुन गईरहेको शान्तिवार्ताको संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ । ह्वाईट हाउसद्धारा मङ्गलबार प्रकाशित विज्ञप्तिमा यो जानकारी दिइएको छ ।

हालैका दिनमा जारी रहेको भनिएको सो द्वन्द्वको अन्त्यका लागि वार्ताको प्रयास भने भइरहेको थियो । यी दुई समूहबीच शान्तिवार्ता हुने भन्ने सम्झौता भएको बताइएको थियो । यसबाट  करिब १५ दिनदेखि जारी रक्तपातपूर्ण द्वन्द्वको अन्त्य हुने अनुमान गरिएको छ ।

वार्ताको लागि दुबै पक्षबाट इथोपियाको राजधानी आडिस आबाबामा आ–आफ्ना प्रतिनिधि मध्यस्ताकर्तालाई पठाइने जनाइएको छ । ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता क्याट्लिन हाएडेनले सो जानकारी दिनु भएको मङ्गलबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

दक्षिणी सुडानमा जारी द्वन्द्व अन्त्यको लागि राष्ट्रपति साल्भा किइर पूर्व उप राष्ट्रपति रिएक मचारलाई प्रवक्ता हाएडेनले यस अघिनै आग्रह गरेका थिए । दक्षिण सुडानमा सैनिक विद्रोहका कारण जारी द्वन्द्वको शान्तिपूर्ण अन्त्य गर्नको लागि संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले पनि बारम्बार सुडानका नेताहरूसँग आग्रह गरेका थिए ।

महासचिव मुनले दक्षिण सुडानका नेताहरूलाई शान्तिपूर्णरुपमा यस द्वन्द्वको अन्त्य गर्दै नागरिकप्रतिको जिम्मेवारी बहन गर्न आग्रह गरेका थिए । विश्वकै सवैभन्दा कान्छो देशको रुपमा रहेको सुडानमा गत १५ दिनयता हिंसा जारी रहेको त्यहाँ हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । यस हिंसाबाट आफ्ना घरपरिवारसहित आवासीय भवनबाट कयौं व्यक्ति विस्थापित भएका छन् ।

पन्ध्रदिनयतादेखि जारी रहेको हिंसाको कुनै मापन नै गर्न नसकिएको विश्लेषकहरुको भनाइ रहेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि देश खतरनाक रुपमा गृहयुद्धको दलदलमा फस्ने खतरा बढिरहेकोले तत्कालै यी समस्याको समाधानका लागि सबै पक्षलाई गम्भीर हुन आग्रह पनि गरेका छन् ।

दक्षिण सुडानका राष्ट्रपतिका सेनाले पूर्व राष्ट्रपतिका सेनालाई सैनिक कु गर्न खोजेको आरोपमा सो द्वन्द्व सुरु भएको बताइएको छ । तरपनि पूर्व राष्ट्रपतिले भने आफूले त्यस्तो नगरेको भन्दै यो आफूमाथि लगाइएको आरोप मात्र भनि बताउँदै आएका छन् । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us