
काठमाण्डु, १७ पुस – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानसभाबाट राजीनामा दिएर बाहिरिन एकीकृत नेकपा माओवादीलाई आग्रह गरेका छन् ।
माओवादी सम्बद्ध अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष वैद्यले संविधानसभाबाट जनताको पक्षमा संविधान लेखिने सम्भावना नरहेको हुँदा पदका लागि लुछाचुँडी गर्नुभन्दा संविधानसभाबाट बाहिरिन एमाओवादीलाई सुझाव दिए ।
बहिस्कार गर्छौ भनेको एमाओवादीले विदेशी दबाबमा झुकेर संविधानसभामा जान लागेको आरोप वैद्यको आरोप छ । संविधानसभा पश्चगामी र यथास्थितिवादीको हातमा गएको भन्दै किसान, मजदुर र उत्पीडित जाति, क्षेत्र, वर्गका जनताले आन्दोलनको तयारी गर्नुको विकल्प नरहेको अध्यक्ष वैद्यको भनाइ थियो ।
आफ्नो पार्टी वैकल्पिक र समानान्तर शक्ति भएको दावी गर्दै उनले राजनीतिक र शैक्षिक समस्या समाधानका लागि आन्दोलनको दिशामा अगाडि बढ्न विद्यार्थीलाई निर्देशन दिए । देशभक्त र क्रान्तिकारी कम्युनिष्ट पार्टीबीचको एकता अहिलको आवश्यकता रहेकोमा वैद्यको जोड छ ।
बैठकले संगठनात्मक संरचना, आन्दोलनका कार्यक्रम र संगठनको राष्ट्रिय सम्मेलनलगायतका विषयमा निर्णय गर्ने अखिल (क्रान्तिकारी) का सचिव रत्न ढकालले जानकारी दिए ।