विश्व राजनीतिको चर्चामा सन् २०१३

काठमाण्डु टुडे २०७० पुष १६ गते १०:११ मा प्रकाशित

काठमाण्डु, १३ पुस/एकराज पाठक– अङ्ग्रेजी पात्रोअनुसारको सन् २०१३ ले संसारबाट मंगलबार रातिदेखि बिदा लिदैँछ । तर यसले यसले छोडेका कतिपय राम्रा, नराम्रा घटना र बिचारहरू भने संसारसामु कयौं वर्ष तथा युगौँसम्मका लागि अविस्मरणीय भएर रहने छन् ।

रङ्गभेदविरोधी आन्दोलनका विश्वनेता नेल्सन मण्डेलाको निधन सन् २०१३ लाई युगौँसम्म चिनाउने यस्तै एक अविस्मरणीय घटनाका रुपमा रहनेछ ।

डिसेम्बर ७ का दिन विश्वका अखबारहरूका आमुख पृष्ठमा समेत मुख्य समाचरको हैसियत ग्रहण गरेको यस समाचार यसवर्षको सबैभन्दा चर्चित तर दुःखद समाचार हो । उनको निधन डिसेम्बर ६ मा भएको थियो ।

अफ्रिकाको एउटा कुनामा जन्मिएको एक व्यक्तिले आफ्नो मृत्युको खबरले संसारभरिका देशका राष्ट्रिय झण्डा झुकाउँछ र संसारलाई नै शोकमा डुबाउँछ भने यो भन्दा ठूलो मृत्युको सम्मान सायदै कसैले पाउन सक्छ होला ।

यही मृत्युको सन्देश आगामी युगौँ युगसम्मका लागि समेत प्रेरणाका रुपमा रहनेछ । रङ्गका आधारमा मानवबीच गरिने गरिएको विभेदको सीमा रेखा मेटाउन संघर्ष गरेका महानमानवका रुपमा मण्डेलालाई विश्व इतिहासमा आउने कयौँ पुस्ताले पनि स्मरण गर्नेछ । सिरियाले दुखाएको विश्वको टाउकाको ओखती ३० महिना बितिसक्दा पनि पत्ता लाग्न सेकेको छैन ।

विश्व मानचित्रको मध्यपूर्वमा पर्ने यस देशको राष्ट्रपतिको कुर्सीमा बसेका एकजना व्यक्तिलाई सत्ताबाट हटाउने मागका लागि करिब एकलाख ३० हजार नागरिकले बलिदानी दिईसकेका छन् ।

लाखौँलाख विदेशमा शरणार्थीका रुपमा बसेका छन् भने हजारौँ निर्दोष नागरिक अङ्भङग भएर बाँचिरहेका छन् । राष्ट्रपति बसार अल असादको सत्तामोहको यो नरसंहारलाई संसारले हेरिमात्र रहेको छ । उता इजिप्टको सङ्क्रमणकालीन तरल राजनीति उल्टोपट्टि बगिदिँदा यसले अर्को इराक जन्मिने खतरा बढाइदिएको छ ।

सङ्क्रमणकालीन तरल राजनीतिको खोलो कता बग्छ पत्तै नहुने । त्यसैले यो अवधिलाई संवेदनशील राजनीति भनिएको रहेछ । चार महिना अघिसम्मका राष्ट्रपतिलाई यतिखेर सेनाले हिरासतमा राखेको छ र उनको दललाई आतङ्ककारी घोषणा गरी जर्बरजस्त मान्छे मार्ने लाईसेन्स सेनाले प्राप्त गरिसकेकोजस्तो देखिएको छ ।

तीन दशक लामो होसनी मुबारकको शासन आम जनआन्दोलनबाट ढालेर दुई वर्षअघि मात्र मोहमद मोर्सी सत्तामा आए । उनलाई संविधानसभा निर्वाचनको लगभग दुई तिहाई परिणामले राष्ट्रपति बनायो ।

तर त्यसको वर्षदिन पनि नपुग्दै उनलाई सेनाले अपदस्थ ग¥यो । कस्तो अचम्म भने वर्षदिन मात्र अघि मुबारक ढाल्न आफ्नै नेतृत्वमा निस्किएको लाखौँको जुलुश उनी राष्ट्रपति भएपछि आफ्नै विरुद्धमा उर्लियो ।

यही जुलुशको आडमा गत जुलार्ईमा सेनाले मोर्सीलाई अपदस्थ ग¥यो र अहिले आएर उनको दल मुस्लिम ब्रदरहुडलाई नै आतङ्ककारी समूहका रुपमा घोषणा ग¥यो । देशको एउटा ठूलो र लोकप्रिय यो दललाई गरिएको यो व्यवहारले त्यहाँ पनि इराक एवम् अफगानिस्तानको अर्को शृङ्खला जन्मिने हो कि भन्ने खतरा संसारसामु बढेर गएको छ ।

एक २९ वर्षीय अमेरिकी युवक एडवार्ड स्नोडेनले आफ्नै देशलाई दिएको तनावले पनि सन् २०१३ मा विश्व चर्चित घटनाको रुप लियो । अमेरिकी गुप्तचर निकायका पूर्व कर्मचारी समेत रहेका उनले उक्त निकायले गर्ने गरेका अवैधानिक गुप्तचरका सूचनाहरू मिडिया मार्फत नै सार्वजनिक गरिदिएपछि यसले विश्वमा तहल्कै मच्चायो ।

विकिलिक्स्कै पद चिन्ह पछ्याएका उनको यो सार्वजनिकी पछि विश्वमा सूचना हक, नागरिक स्वतन्त्रता र अभिव्यक्ति अधिकारको वकालत गरिरहेको अमेरिका सामु एक गम्भीर प्रश्न पनि उब्जिएको छ । हाल स्नोडेन, रसियामा शरण लिएर बसिरहेका छन् ।

उनलाई शरण दिन नहुने अमेरिकी दाबी माथिको रसियाली प्रतिवाद तथा कोरियाली प्रायद्वीपका विषयमा दुई कोरियाबीचको विवादले अमेरिकालाई पनि तान्यो र विश्वयुद्ध नै हुने होकि जस्तो गरी निकै ठूलो शब्दयुद्ध भयो ।

यस्तो विवाद सीमाका कारण चीन र जापानबीचमा पनि देखियो । आ–आफ्नो भनी दाबी गरिरहेका दुईवटा टापुका कारण यी दुई देशमा पनि एक अर्काका विरुद्ध आ–आफ्ना राजधानीमा विरोध जुलुशहरू निस्किएका थिए । अमेरिकी राष्ट्रपतिका रुपमा बाराक ओबामाको दोस्रो कार्यकाल तथा लगभग यस दशकका लागि चिनियाँ राष्ट्रपतिका रुपमा चुनिएका सि जिनपिङको समाचारले पनि विश्वका मिडियामा स्थान पायो ।

त्यस्तै उहाँहरूका बीचमा गत ८ जुनमा अमेरिकाको क्यालिफोनियामा भएको भेटले पनि एसिया र युरोपेली क्षेत्रमा व्याप्त रहेको आर्थिक मन्दीलाई सरलीकरण गर्ने र आगामी दिनमा दुई देशबीचको सम्बन्धको नयाँ नक्सा कोर्ने काममा सघाएको थियो । उता देशकै पहिलो महिला प्रधानमन्त्री पाएको गर्भ गरेको थाइल्याण्डमा यो इतिहासले तीन वर्ष नै ननाघ्दै विपक्षी दलहरुले प्रधानमन्त्री हटाउने निकै आलोचित र कडा आन्दोलन थालेका छन् ।

संसदमा स्पष्ट बहुमत ल्याएर सरकार चलाइरहेकी उनलाई विनाकारण विपक्षीहरुले सत्ताबाट हटाउने जबर्जस्त खेल सुरु गरेका छन् । त्यस्तै बेलायतकी पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरको निधनको समाचारले पनि राजनीतिमा लागेका विश्वका महिलालाई आइरन लेडीको यात्राले कुनै न कुनै रुपमा राजनीतिक प्रेरणा छोडेर गएको छ ।

सरकारले आम चुनावको घोषणा गरिसकेको छ तर विपक्षीहरु चुनावमा नजाने भनेर आन्दोलन गरिरहेका छन् । अभाव, गरिबी र पछौटेपनको पर्याय बन्ने गरेको दक्षिण एसियाली क्षेत्र पनि यसवर्षको विश्व चर्चाबाट छुटेको छैन । ओसामा  बिन लादेनपछिको अल कायदाका नेता अल जवाहिरीको अफगानिस्तानमा भएको हत्याले पनि आतङ्कवाद विरुद्धको विश्व राजनीतिको ध्यान तानेको थियो ।

त्यस्तै श्रीलङ्कामा गत महिना भएको संयुक्त राष्ट्रमण्डल संलग्न राष्ट्रहरूको सम्मेलनले पनि विवास्पद चर्चा बटुलेको थियो । सन् २००९ मा  त्यहाँका तामिल टाइगर्सको विरुद्ध गरिएको सशक्त कारबाहीमा वर्तमान राष्ट्रपति महिन्दा राजपाक्षकै सरकारले युद्ध अपराध गरेकाले उनको आयोजनाको सो सम्मेलनमा सहभागी नहुन विश्वका नेतालाई बेलायती अधिकारवादीले माग गरे ।

भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहमाथि पनि तामिल समुदायका भारतीय संसदको दवाव प¥यो र अन्ततः उहाँ उपस्थित हुनु पनि भएन । यस्तै युद्धअपराधको मुद्दाले छिमेकी राष्ट्र बङ्गलादेशलाई अहिले ४० वर्षपछि आएर नराम्ररी पोलेको छ ।

सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रता आन्दोलनका क्रममा युद्धअपराध गरेको आरोपमा त्यहाँको एक ठूलो मुस्लिम दलका नेताहरुलाई अदालतले मृत्युदण्डको सजाय सुनाइरहेको छ । यस घटनाबाट भड्किएको राजनीति बङ्गलादेशमा सितिमिती सङ्लिनेजस्तो देखिँदैन ।

सन् २०१४ अन्त्यसँगै नेटो सम्वद्ध राष्ट्रले आ–आफ्ना सैनिक फिर्ता गर्ने घोषण गरेको भए पनि त्यस पश्चात् समेत अमेरिकी सेना रहने नरहने भन्ने सम्बन्धमा अमेरिका र अगानिस्तानबीचको विवाद कायमै छ । त्यसपछि पनि अमेरिका र अफगानिस्तानमा १५ हजार सेना राख्न चाहान्छ भने यसका लागि अमेरिकाले तयार पारेको सम्झौतामा सही गर्न राष्ट्रपति हमिद कारजायी मानिरहेका छैनन् ।

उता पाकिस्तानमा १२ वर्षमा राजनीतिको खोलो फर्किएको छ । सन् १९९९ मा प्रधानमन्त्री नवाज शरिफलाई जेल हालेर आफू सत्तामा आएका परवेज मुसर्रफ यतिखेर शरिफले प्रधानमन्त्रीको सपथ खाएसँगै जेलभित्र परेका छन् । अन्यत्र कतै कल्पना नगरिएको घटनाले राजनीतिमा ठाउँ लिन्छ भनेजस्तै यतिखेर शरिफ मुसर्रफमाथि सकेसम्मको रिस पोख्न सक्ने ठाउँमा पुगेका छन् ।

पाकिस्तानको इतिहासमै कहिल्यै नभएको देशद्रोहको आरोप अहिले मुसर्रफमाथि लगाइएको छ । यता यसवर्षको लगभग अन्तिम केही दिनमात्र बाँकी रहँदा भारतीय राजनीतिमा एउटा नयाँ नामले जन्म लिएको छ ।

आम आदमी पार्टी र त्यसका नेता अरविन्द केजरीवाल चर्चाको केन्द्रमा उभिएका छन् । नयाँ दिल्ली राज्यको विधानसभाको निर्वाचनमा अनायस २८ स्थानमा विजय हाँसिल गरेको उक्त दलले शनिबार मात्र सरकार गठन गरेको छ ।

भ्रष्टाचार विरोधी अभियान सूचना हकको सशक्त कार्यान्वयनको पृष्ठभूमिबाट जन्मिएको त्यस पार्टीको आगामी संसदीय निर्वाचनमा प्राप्त हुनसक्ने स्थानको अनुमानले पनि भारतीय जनतामा उत्सुकता जगाएको छ । रासस/एजेन्सीहरूको सहयोगमा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us