टेस्ट श्रृङ्खलामा दक्षिण अफ्रिका १–० ले विजयी

काठमाण्डु टुडे २०७० पुष १६ गते ३:१३ मा प्रकाशित

South-Africa-Jacques-Kallisकाठमाण्डु, १६ पुस–दोस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतलाई १० विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले सन्यास लिँदै गरेका खेलाडी ज्याकुवस कालिसलाई विदाई उपहार दिएको छ । जीतसँगै दक्षिण अफ्रिकाले टेस्ट श्रृङ्खलामा एक–शुन्यको विजय हासिल गरेको छ ।

खराब प्रकाश र वर्षाले प्रभावित रहेको खेलमा दक्षिण अफ्रिकाले भारतलाई हराउने क्रममा अन्तिम ईनिङमा ५८ रनको लक्ष्य पाएको थियो । दक्षिण अफ्रिकाले कुनै पनि विकेट नगुमाई सो लक्ष्य प्राप्त गर्यो । यसअघि दक्षिण अफ्रिकाले पहिलो ईनिङमा बनाएको ५ सय रनको लक्ष पछ्याउँदै भारतले दोस्रो ईनिङमा मात्र २ सय २३ रन बनाउन सक्यो । भारतका अजङ्क राहणे शतक बनाउनबाट केवल ४ रनले चुक्दै ९६ रनको निजी स्कोरमा डेल स्टेनको ३ सय ५० औ टेस्ट शिकार भए ।

यसअघि दक्षिण अफ्रिको पहिलो ईनिङमा आफ्नो अन्तिम खेल खेलिरहेका ज्याकुवस कालिसले शतकीय योगदान दिँदै १ सय १५ रन बनाए । ३८ वर्षिय कालिसको १ सय ५५ टेस्ट खेलमा यो ४५ औं शतक थियो । आफ्नो खेल जीवनमा ५५ दशमलव ३७ औसतका साथ १३ हजार २ सय ८९ रन बनाएका छन् । उनको खेल जीवनको औसत महान खेलाडी सचिन तेन्दुलकारको औसत भन्दा बढि छ ।

सचिनको औसत ५३ दशमलब ८३ थियो । कालिसले टेस्ट क्रिकेटमा २ सय ९२ विकेट पनि लिएका छन् । उनले खेलेका ३२५ एक दिवसीय खेलमा कालिसले १७ शतक सहित ११ हजार ५ सय ७४ रन बनाउँदै २ सय ७३ विकेट लिएका छन् ।

उनलाई विश्वका सर्वेश्रेष्ठ अलराउण्डरहरु मध्येका एक मानिन्छ । कालिसले आफ्नो देशका लागि खेलिएको अन्तिम खेलमा शतकीय योगदान दिन पाउँदा निकै खुसी लागेको जनाए । कालिसले आफ्नो खेल जीवनको सुरुवात सन् १९९५ मा डर्बन ईङ्ग्ल्याण्ड विरुद्धको खेलबाट शुरु गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us