मनाङ र आर्मीको विजयी शुरुवात

काठमाण्डु टुडे २०७० पुष १६ गते २:२२ मा प्रकाशित

काठमाण्डु, १५ पुस–राजधानीमा सोमबारदेखि सुरु भएको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी र नेपाल आर्मीले विजयी शुरुवात गरेका छन् ।

उदघाटन खेलमा मनाङले ब्वाइज युनियन क्लबलाई १–० ले हरायो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको प्रतियोगितामा गतवर्ष ए डिभिजन लिगको उपविजेता मनाङले ब्वाइज युनियनलाई पराजित गर्दै ३ अङ्क जोड्न सफल भएको हो ।

यही पुस २ गते सम्पन्न एनसेल कप फुटबल प्रतियोगिताको फाइनल खेलमा पनि मनाङले ब्वाइज युनियनलाई खेलको अत्तिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो ।

मनाङ मस्र्याङ्दीको जितमा सुलभ मास्के नायक बने । उनले खेलको सुरुवाती १० औं मिनेटमा गरेको एक गोल नै निर्णायक गोल बन्यो ।

दोस्रो खेलमा नेपाल आर्मी क्लबले जाउलाखेल युथ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्न सफल भयो । प्रतियोगितामा खेलको पहिलो हाफसम्म दुवै टिमले गोल गर्न सकेनन् भने खेलको दोस्रो हाफको ६४ औं मिनेटमा गत वर्षमा तेस्रो भएको आर्मीका खेलाडी भरत खवासले गोल गर्दै पहिलो अग्रता लिए ।

यस्तै आर्मीका अर्का खेलाडी नवयुग श्रेष्ठले खेलको ७९ औं मिनेटमा एक गोल थपे । यस्तै श्रेष्ठले गोल गरेको १० औं मिनेटपछि फेरि भरत खवासले थप एक गोल थप्दै आर्मीलाई ३–० को सहज जित दिलाए । यस जितसँगै आर्मीले ३ अङ्क जोडेको छ ।

प्रतियोगितामा ए डिभिजनमा रहेको १३ क्लबले प्रतिस्पर्धा गरेका छन् ।

मंगलबारको पहिलो खेल दिउँसो १ बजे फ्रेन्डस क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) क्लबको सामना गर्नेछ भने दोस्रो खेल ३ बजे मच्छिन्द्र क्लब र सङ्कटा क्लब आमनेसामने हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us