कयौ नेटो सैनिक मारिएको आशंका

काठमाण्डु टुडे २०७० पुष १२ गते ११:१७ मा प्रकाशित

काबुल, १२ पुस–अफगानिस्तानको काबुलमा शुक्रबार नेटो सैनिकको सुरक्षा गस्तीमाथि निकै शक्तिशाली बम विस्फोट गराइएको छ । सो गस्तीमाथि भएको आत्मघाती बम हमलामा परी कयौँ सैनिक मारिएको आशङ्का गरिएको छ । तर क्षतिको पूर्ण विवरण भने प्राप्त भएको छैन ।
एक अफगान प्रहरीले आफ्नो नाम नबताउने शर्तमा भने– त्यो कयौँ नेटो सैनिकको गस्ती टोलीमाथि गरिएको आक्रमण हो र यसमा धेरैजना मारिएको आशङ्का छ ।
केही दिनयतादेखि अफगानिस्तानमा नेटो सैनिकले गरेको कारबाहीमा परी तालिवानहरुको ज्यान गइरहेको छ । तर शुक्रबार तालिवानहरुले निकै नै ठूलो योजनाका साथ यो आक्रमण गरेको बताइएकोले यसमा विदेशी सैनिकको ज्यान गएको आशङ्का गरिएको छ ।
आठ तालिवानको मृत्यु
अफगानिस्तानमा पूर्वी भागमा पर्ने लाघमान  प्रान्तमा अफगान विशेष सुरक्षाबलले शुक्रबार बिहान गरेको कारबाहीको क्रममा तालिवान लडाकू समूहका आठ सदस्य मारिएका छन् ।
यस कारबाहीको क्रममा अन्य एक तालिवान विद्रोही घाइते भएको पनि सो स्रोतले जनाएको छ । हाल अफगानिस्तानमा अफगान राष्ट्रिय सुरक्षाबलले तालिवानविरुद्धको कारबाहीलाई सशक्त बनाएको जनाइएको छ । यस क्रममा ती लडाकू मारिएका हन् ।
आगामी सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तानबाट नेटो सैनिक फर्किसक्ने भएकोले त्यहाँका सुरक्षाकर्मीलाई तालिवानविरुद्धको कारबाहीका लागि अघि सारिएको बताइएको छ ।
अफगानिस्तानमा सेना र नेटोसँग आवद्ध अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बलले विगत करिब दश वर्षदेखि तालिवानहरूका विरुद्धमा कारबाही जारी राखेको छ ।
कारबाहीको क्रममा सुरक्षा बलतर्फ भने कुनै हताहती नभएको र विशेष  प्रहरीबलले विभिन्न हातहतियार समेत कब्जा गरेको पनि उल्लेख गरिएको छ । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us