
काठमाण्डु, ११ पुस- विश्वकप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले विहीबार श्रीलंकाको ब्लुमफिल्ड क्रिकेट एन्ड एथ्लेट क्लबलाई १६ रनले हराएको छ ।
लगातार चौथो जित निकाल्ने क्रममा नेपालले ब्लुमफिल्डलाई हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ब्लुमफिल्ड क्लबलाई २ सय ४७ रनको लक्ष्य दिएको थियो ।
नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ४६ रन बनायो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ६२, सुवास खकुरेलले ४१, अनिल मण्डलले ३७, शरद भेषावकरले ३६ र विनोद भण्डारीले २८ रन बनाए ।
जवाफि ब्याटिङ गरेको ब्लुमफिल्ड ४९ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय ३० रन मात्रै बनाउन सक्यो ।
नेपालले यस अघि खेलेका तीनवटै अभ्यास खेल जितेको थियो । अभ्यास खेल सकेर नेपाली टोली श्रीलंकाबाटै न्यूजील्याण्ड जाने कार्यक्रम छ ।