शीतलहरले तराईको जनजीवन प्रभावित

काठमाण्डु टुडे २०७० पुष ११ गते ७:२९ मा प्रकाशित

9सिरहा, ११ पुस – तराईमा शीतलहर सुरु भएको छ । शीतलहरका कारण सिरहालगायत तराईको जनजीवन प्रभावित बनेको छ । शीतलहरसँगै चिसो हावा चलेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका छन् ।

दुई दिनदेखि दिनभर कुहिरो लाग्दै आएको छ भने घाम उदाएको छैन । कुहिरोका कारण राजमार्गमा सडक दुर्घटनाको सम्भावना बढेको भन्दै सवारीसाधन सीमित गतिमा चलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।

चिसोबाट बच्न अहिले घरघरमा घुर (आगो) ताप्न थालिएको छ । चिसो बढेसँगै बजारमा सर्वसाधारणको चहलपहल घटेको छ । चिसोले विशेषगरी रिक्सा चलाउने मजदुर बढी मर्कामा परेका छन् । विद्यालयमा बालबालिकाको सङ्ख्या पनि जाडोकै कारण घटेकोसुन्दर जनता मावि औरहीका शिक्षक श्यामनन्दन यादवले जानकारी दिए ।

जाडोका कारण बजारमा बाक्लो कपडा किन्नेको सङ्ख्या बढेको छ । सिरहाको लहान, गोलबजार, मिर्चैया, सिरहा सदरमुकामलगायतका बजारका कपडा पसलमा आजभोलि दिनभर बाक्लो कपडा किन्नेको भीड लाग्ने गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत वर्ष सिरहामा चिसोबाट १४ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश गरिब बालबालिका र वृद्धवृद्धा थिए ।

उदयपुरमा पनि प्रभाव
उदयपुर – चार दिन अघिदेखि सुरु भएको शीतलहरका उदयपुर जिल्लाको जनजीवन पूर्णरुपमा प्रभावित भएको छ । बिहानको २ बजेबाट सुरु भएको शीतलहर दिनको १२ बजेसम्म चल्न थालेपछि त्यस क्षेत्रको जनजीवन प्रभावित हुन थालेको हो ।

उदयपुरको सदरमुकाम गाईघाट, त्रियुगा नगरपालिका क्षेत्र आसपास र जिल्लाको पूर्वी तथा पश्चिमी भेगलगायत पहाडी क्षेत्रमा समेत शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेको स्थानीय बताउँछन् ।

शीतलहर चल्न थालेपछि अहिले त्रियुगा नगरपालिका क्षेत्रलगायत जिल्लाको पूर्वी भेगको जोगीदह, हँडिया, रामपुर, तपेस्वरी, सुन्दरपुर क्षेत्रका स्थानीयवासीलाई दिउँसो १२ बजेसम्म घरमा नै आगो तापेर बस्न बाध्य हुनु परेको जोगिदहस्थित जनता माविका शिक्षक भोला चौधरीले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us