महिलाहरूले बनाए सडक

काठमाण्डु टुडे २०७० पुष ११ गते ५:१० मा प्रकाशित

विराटनगर, ११ पुस–मोरङको रङ्गेलीमा महिलाले आफ्नै सक्रियतामा सडक निर्माण गरेका छन् । रंगेली गाविस–४ का आमा समूहमा सहभागी ४० भन्दा बढी महिलाले दिनरात खटेर आफ्नो गाउँको एक किलोमिटरभन्दा बढी सडकमा ग्राभेल तथा सडकको स्तरोन्नति तथा विस्तार गर्ने कार्य सम्पन्न गरेका छन् ।

महिलाहरूले समूहमा नै उपभोक्ता समिति गठन गरेर १५ वर्षअघि ग्राभेल भएर भत्केको रङ्गेली–४ स्थित शुक्रवारेहाटदेखि मुन्डाकालीसम्मको एक हजार १०० मिटर सडक विस्तार एवम् ग्राभेल गरेको जिल्ला विकास समिति मोरङका इन्जिनियर विनोद ओझाले जानकारी दिए ।

महिलाहरूले आफ्नै जनश्रमदानमा सडक निर्माणका क्रममा सडकमा रहेका ठूलाठूला ढुङ्गाहरू हटाउने तथा सडकपेटीमा बालुवाको बोरासमेत बिछ्याएर सडक बलियो पारेका छन् । सडक निर्माणको क्रममा कुनै ठाउँमा सानातिना विवाद आउँदा पनि महिला आफैले विवाद मिलाएर सडक निर्माणमा सबैलाई सहभागी गराउन सफल भएका थिए । सडक निर्माण उपभोक्ता समितिकी अध्यक्ष एवम् शिक्षिका मञ्जु सत्यालले आफ्नो गाउँको सडकलाई सकेसम्म राम्रो बनाउन दैनिक २० भन्दा बढी महिला सक्रिय रहेको बताइन् ।

आदर्श महिला समूहले यसअघि १५ लाख रुपैयाँको लगतमा झोलुङ्गे पुल निर्माण गरेपछि जिविसले उनीहरूले गरेको कार्यको मूल्याङ्कन गर्दै सडक निर्माण गर्ने जिम्मा दिएको थियो । सडक निर्माणपश्चात् दर्वेसा, दोहमाना, वनकोल, टकुवा, रङ्गेली तथा धनजुवाका बासिन्दालाई आवतजावतमा सहज भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us