गाडी चढ्नु अघि आफन्तको ठेगाना अनिवार्य

काठमाण्डु टुडे २०७० पुष ११ गते ५:१३ मा प्रकाशित

सोलुखुम्बु, ११ पुस– अब जिप तथा बसको टिकट लिँदा आफन्तको समेत विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ । गाडि दुर्घटनामा भएर कसैको मृत्यु भयो वा घाइते भयो भने आफन्तलाई सूचना दिन सजिलो होस् भनेर यस्तो व्यवस्था गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आयोजनामा बुधबार सम्पन्न सरोकारवालाको बैठकले हरेक काउन्टरमा जिप तथा बसमा चढेका यात्रु र उनीहरुका आफन्त समेतको सम्पर्क नम्बर तथा ठेगानासहित विवरण अनिवार्य राख्नुपर्ने निर्णय गरेको हो । प्रहरी नायब उपरीक्षक बद्रिविक्रम थापाले भने, ‘घटना भइसकेपछि त्यहाँ को थिए र उनीहरुका आफन्त कहाँ छन् भन्ने पत्ता लगाउनै समस्या भएका कारण आफन्तसहितको विवरण राख्न अनिवार्य गरिएको हो ।’

यो व्यवस्था केही असजिलो देखिए पनि विवरण नराख्दा यसअघि समस्या आएको कारण अति आवश्यक भएकाले सिटी भिलेज यातायात सेवा समितिका जिल्ला संयोजक ललितबहादुर थापामगर बताउँछन् ।

अहिले सोलुखुम्बुबाट राजधानी तथा तराई जाने यात्रु लिएर दैनिक २० भन्दा बढी जिप सञ्चालनमा रहेका छन् । विभिन्न माध्यमबाट सम्पर्क गरेर जिप चढ्ने भएकाले त्यस जिपमा को–को छन् भन्ने विवरण पाइँदैन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us