
काठमाण्डु, ११ पुस–समानुपातिक सभासदको नामावलीलाई अन्तिम टुंगो लगाउन राजनीतिक दलहरु छलफलमा व्यस्त भएका छन् । नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेसवादी दलहरु छलफलमा जुटेका हुन् ।
समानुपातिक सभासद छान्न विहान बसेको काँग्रेस पदाधिकारी बैठक निष्कर्ष विहीन भएको छ । समानुपातिक तर्फ ९१ सिट पाएको काँग्रेसले शीर्ष नेताहरुमा सहमति नजुट्दा अन्तिम टुंगो लगाउन सकेको छैन ।
नेकपा एमालेले स्थायी कमिटी बैठकबाट समानुपातिक सभासदको सूची टुंगो लगाउदै छ । एमालेको बैठक काठमाण्डुको गोकर्ण रिसोर्टमा जारी छ । एमालेले समानुपातिक तर्फ ८४ सिट पाएको छ । अध्यक्ष झलनाथ खनाल र नेता केपी ओली पक्षबीच सभासद चयनबारे विवाद हुदै आएको छ ।
यसैगरी चार बुँदे सहमति पछि संविधानसभामा जान तयार भएको एकीकृत नेकपा माओवादीले पनि सभासद चयनबारे छलफल शुरु गर्दै छ । विहीबार दिउँसो पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने पूर्वपोलिटब्युरोको बैठकमा सभासद चयन लगायत विषयमा छलफल हुने छ । बैठकमा समानुपातिक सभासद चयनको साथै आगामी केन्द्रीय समिति बैठकको एजेण्डाबारे छलफल हुने प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए । एमाओवादीको केन्द्रीय समिति बैठक आगामी २० गतेदेखि शुरु हुदै छ ।
मधेसी जनअधिकार फोरम, फोरम लोकतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टी लगायत दल पनि समानुपातिक सभासद चयन गर्न व्यस्त छन् । तमलोपाको कार्यसम्पादन समितिको बैठक विहीबार बस्दै छ । पहिले सभासद भएकालाई यसपटक नदोहोर्याउने गरी तमलोपाले मापदण्ड तयार पारेको स्रोतले जनाएको छ ।
निर्वाचन आयोगले दलहरुकै आग्रहमा नामावली बुझाउने म्याद दुईपटक थप्दै आउँदो १५ गतेसम्मको लागि तोकेको छ । सो समयभित्रै सूची बुझाउने दलहरुको तयारी छ ।