
धनगढी, ११ पुस–केही दिनदेखि चलेको शीतलहरसँगै बढेको कठ्याङ्ग्रिने जाडोले पश्चिम तराईका कैलाली, कञ्चनपुरलगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ ।
दिनभरि नै आकासमा लाग्ने बाक्लो हुस्सुसँगै चल्ने शीतलहरका कारण बढेको जाडोले विद्यालयका छात्रछात्रा, दैनिक मजदुरी गर्ने मजदुर र वृद्धवृद्धाहरुलाई बढी असर पु¥याएको छ । जाडो बढेसँगै जिल्लाका अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा निमोनिया, श्वासप्रश्वास, रुघाखोकी र कोल्ड डाइरेरियाका बिरामी बढ्न थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
चिसोबाट जोगिन आगो ताप्नका लागि दाउराको आभाव देखिएपछि थप सास्ती खेप्नु परेको सर्वसाधारणले गुनासो गरेका छन् । जाडो बढेपछि स्थानीय बजारमा सर्वसाधारणको आवागमनसमेत पातलिएको छ ।
शीतलहर अझै केही दिन जारी रहेमा आलु, तोरी, गोलभेँडालगायतको हिउँदेबालीमा रोगको समस्या देखिने कृषि प्राविधिकहरुले बताएका छन् । तीन दिनअघि २४ डिग्री सेल्सियस रहेको यहाँको अधिकतम तापक्रम जाडो बढेसँगै मङ्गलबार १४.२ र बुधबार १६.८ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम विज्ञान विभागको स्थानीय कार्यालयले जनाएको छ ।
विगतका वर्षहरुमा मङ्सिरदेखि नै चल्ने शीतलहर यस वर्ष भने केही ढिलो पुसदेखि चलेको छ ।