जेसिजको राष्ट्रिय अध्यक्षमा दुईको उम्मेदवारी

काठमाण्डु टुडे २०७० पुष १० गते ९:३३ मा प्रकाशित

jaycees-logoबागलुङ, १० पुस – पुस १२ गतेदेखि बागलुङमा सुरु हुने नेपाल जेसिजको ४० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि दुई जनाले उम्मदेवारी दिएका छन् ।
काठमाण्डु जेसिजका पूर्व अध्यक्ष एवम् पूर्व केन्द्रीय कार्यकारिणी उपाध्यक्ष सुशीलबाबु श्रेष्ठ र इनरुवा जेसिजका पूर्व अध्यक्ष वीरेन्द्र श्रेष्ठको उम्मेदवारी परेको बागलुङ जेसिजका अध्यक्ष दिवाकर शाक्यले जानकारी दिए ।
श्रेष्ठ गत वर्ष हेटाैँडामा भएको महाधिवेशनमा वर्तमान अध्यक्षसँग पराजित भएका थिए । अध्यक्षबाहेक कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्ष गरी १७ पदमा हुने निर्वाचनका लागि ४२ जनाले उम्मेदवारी घोषणा गरेको शाक्यले बताए ।
उम्मेदवारको लागि दिइने पूर्व तालिम पनि सुरु भइसकेको जेसिजले जनाएको छ । देशभरका १२३ शाखाबाट तीन हजारभन्दा बढी जेसिजका युवा महाधिवेशनमा सहभागी हुने आयोजकले जनाएको छ । जेसिजले नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास गरेपनि निर्वाचन हुने सम्भावना बढेर गएको उनले बताए ।
पुस १५ सम्म चल्ने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पनि आयोजकले जनाएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिइएको हो । महाधिवेशनका लागि बागलुङ सदरमुकाममा रहेका साना ठूला सबै होटल बुक भइसकेको बागलुङ जेसिजका महाधिवेशन निर्देशक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले बताए ।
करिब एक करोड ३० लाख खर्च लाग्ने अनुमान गरिएको महाधिवेशन सफल बनाउन बागलुङका सबै उद्यमी, व्यापारी, सरकारी गैरसरकारी संघ संस्थाबाट सहयोग सङ्कलन हुने क्रम जारी रहेको बागलुङ जेसिजले जनाएको छ ।
महाधिवेशनमा भाग लिन आउनेलाई बागलुङको प्रसिद्ध कालीका भगवतीको दर्शन, बागलुङ जिल्लाको लामो झोलुङ्गेपुलदेखि विभिन्न धार्मिक र सांस्कृतिक स्थल अवलोकन गराउने कार्यक्रम समेत तय भएको छ । महाधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ट नेता शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us