
काठमाण्डु, १० पुस – मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले छिट्टै निर्वाचित सरकार गठन हुने विश्वास व्यक्त गरेका छन् ।
राजधानीमा बुधबार एलआरआई उमाविको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै रेग्मीले संविधानसभा अधिवेशनसँगै छिट्टै नयाँ सरकार बन्ने बताए । संविधानसभा अधिवेशनको प्रारम्भसँगै संविधान निर्माण र निर्वाचित सरकार गठनको कार्य अघि बढ्ने उनको विश्वास छ ।
संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न जनताले देखाएको उत्साह र सहभागिताका लागि धन्यावाद दिँदै अध्यक्ष रेग्मीले मंसिर ४ गते सम्पन्न संविधानसभा निर्वाचनपश्चात् नेपालको शान्ति र समृद्धिको अपेक्षा बढेको बताए ।
सरकारले देश विकासका लागि शिक्षालाई प्रबर्द्धन गर्ने भन्दै रेग्मीले आशावादी भई शिक्षाको क्षेत्रमा निरन्तर क्रियाशील हुँदै अघि बढ्नु पर्ने बताए ।
‘आजको शिक्षा प्रणाली समग्र देश र जनताको पक्षमा कार्य गर्ने जनशक्ति उत्पादन गर्न केन्द्रित हुनुपर्छ,’ रेग्मीले भने, ‘कुनै पनि व्यक्तिलाई रोजगार वा जागिरका लागि योग्य बनाउने प्रकारबाट मात्र निर्देशित हुनुहुँदैन, बरु समाज रुपान्तरणको सम्वाहक बन्नुपर्छ ।
देश, जनता र सिङ्गो विश्वलाई नै सुखद स्थानका रुपमा विकास गर्नसक्ने माध्यम शिक्षा बन्नु पर्ने उनको भनाई छ ।